काठमाडौं । पाल्पाबाट प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका २ पोखराथोकका ४० वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्रं ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औँठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको ।