तर, सत्तामा ‘ढुक्क’ छन् प्रचण्ड-Sutra News

तर, सत्तामा ‘ढुक्क’ छन् प्रचण्ड

सोमबार, ३ असार २०८१

सोमबार, ३ असार २०८१

काठमाडौं । सत्ता समीकरणको मुख्य दल नेकपा (एमाले) र अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता समीकरणबारे सार्वजनिकरुपमा व्यक्त गरेका धारणासँगै सत्ता समीकरणलाई लिएर अनेकन अड्कलबाजी भइरहेका छन् । सतहमा देखिएका घटनालाई हेर्दा पनि अवस्था सामान्य देखिन्न ।



सोमबार भरतपुर विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि पत्रकारहरुको साझा प्रश्न थियो– सत्ता समीकरण भत्किन लागेको हो ?

यद्यपि, प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुको प्रश्नलाई निकै सामान्यकृतरुपमा लिए । उनले “मिडियामा आउने ‘र्‍युमर’हरुमा सत्यता हुँदैन” भन्दै सरकारमा समस्या नरहेको दाबी गरे । सँगै उनले व्यक्त भएका असन्तुष्टिहरुको कुनै अर्थ नरहेको टिप्पणी पनि गरे ।

“उहाँ (केपी शर्मा ओली)ले असन्तुष्टि व्यक्त जस्तो गर्नुभएको छ, साँच्चै गर्नुभएको छैन, रास्वपाका नेताहरुले पनि आफ्नो पहिचानका निम्ति ‘राजीनामा गोजीमा राखेका छौं’ भन्नुपर्ने आवश्यकता होला, त्यस्तो केही छैन”, पत्रकारहरुको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, “यो जान्छ, राम्रैसँग जान्छ, बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने ‘रियुमर’हरुमा कुनै सत्यता छैन ।”

तर, प्रधानमन्त्री प्रचण्डले निकै हल्लाकरुपमा व्यक्त गरेपनि सत्ता समीकरणभित्रको अवस्था हेर्दा, सामान्य देखिन्न । प्रस्तुत बजेटलाई लिएर पोखिएको असन्तुष्टिले सत्ता समीकरण टिकिरहला भन्ने अवस्थामा छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख नै खोलेर “सन्तोष मान्ने ठाउँ नरहेको” बताएका छन् भने ओलीको जस्तै भाषा रास्वपाभित्रबाट पनि आएको छ । खेलकुदमन्त्रीको जिम्मेवारीसमेत रहेका रास्वपा नेता विराजभक्त श्रेष्ठले “खल्तीमा राजीनामा नै बोकेर हिँडेको” भन्ने अभिव्यक्ति दिएका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारका असन्तुष्टिबारे दिएको टिप्पणीले प्रश्न उठाएको छ । प्रधानमन्त्री किन ढुक्क देखिए ? प्रधानमन्त्रीले किन मुख्य साझेदारका चिन्तालाई सामान्य ठाने ?

माओवादी केन्द्रका सचिव गणेश शाह एमाले र रास्वपाबाट व्यक्त भएका असन्तुष्टि व्यर्थको भएको बताउँछन् । बजेटलाई देखाएर अन्यतर्फ स्वार्थ पूरा गर्ने उद्देश्यमा असन्तुष्टि पोखिएको भन्दै उनले यसलाई महत्व दिने अवस्था नरहेको बताए ।

“असन्तुष्टि थुप्रै कारण व्यक्त भएका छन्, यो दबाबमा राख्ने रणनीति हो”, सूत्रसँगको कुराकानीमा शाहले भनेका छन्, “असन्तुष्टिहरु व्यक्त गर्छन्, बजेट पारित गर्ने बेलामा समस्या हुन्न, असन्तुष्टि देखाउने कुरा हो, यसलाई महत्व दिन पर्दैन ।”

शाहको भनाई हेर्दा, माओवादी केन्द्र निकै सहज अवस्थामा छ । सत्ता समीकरण परिवर्तन हुने अवस्थामा छैन, भइहाले पनि माओवादी केन्द्रलाई अप्ठ्यारो नहुने शाहको तर्क छ ।

हुन पनि बजेटलाई लिएर एमालेले सत्ता नेतृत्वकर्ता माओवादी केन्द्रमाथि सार्वजनिक असन्तुष्टि जनाइरहँदा कांग्रेसले संसदबाटै ‘आफूले काँध थाप्नुपर्ने अवस्था आउन लागेको’ बताएको थियो । जेठ २३ मा बसेको संसद बैठकलाई सम्बोधनका क्रममा कांग्रेस महामन्त्री गगन कुमार थापाले भनेका बजेटको विरोध गर्ने अवस्था नरहेको बताएका थिए ।

“बजेटबारे बोल्न आउँदा म आफै कन्फ्युजमा छु, बोल्ने कसरी भनेर, यतिधेरै उथलपुथल भएको यो संसद्‌मा ६÷८ महिनापछि आफैंले काँध हाल्नु पर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ?”, थापाले भनेका थिए, “गत वर्ष बजेट मिल्दैन भनेको साथीले ३÷४ महिनाको जिम्मा लिनु परेजस्तै ।”

राजनीतिक विश्लेषक मुकुन्द आचार्य पनि एमाले र रास्वपा सरकारबाट बाहिरिने अवस्थामा नरहेको कारण पनि प्रधानमन्त्री प्रचण्डले उनीहरुका असन्तुष्टिलाई सामान्यकृतरुपमा लिएको बताउँछन् । कांग्रेसले अवसर खोजिरहेको अवस्थामा सरकारबाट बाहिरिनु एमाले र रास्वपाका निम्ति नै घातक हुने आचार्यको बुझाई छ ।

“प्रचण्ड निकै ‘कम्र्फट जोन’मा छन्, एमाले र रास्वपा सरकारबाट बाहिरिए घाटा उनीहरुलाई नै पर्ने अवस्था छ”, आचार्यले भनेका छन्, “कांग्रेस कसरी सत्तामा फर्किने, वर्तमान समीकरण भत्काउने भन्ने योजनामा छ, यस्तोमा एमाले र रास्वपालाई नै घाटा हुन्छ, यो अवस्थालाई प्रचण्डले राम्ररी बुझेका छन् ।”

परिस्थितिलाई राम्रो आकलन गरेका प्रचण्ड सत्ता तलमाथि होला भन्नेमा नरहेको उनले बताए ।

सम्बन्धित सामाग्री

सत्ता साझेदारबीच खटपट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट