यी कारणले विश्वकपमा नेपालले कुनै जित निकाल्न सकेन-Sutra News

यी कारणले विश्वकपमा नेपालले कुनै जित निकाल्न सकेन

सोमबार, ३ असार २०८१

सोमबार, ३ असार २०८१

काठमाडौं । नवौँ संस्करणको आईसीसी टी २० विश्वकपमा नेपालको खेल सकिएको छ । छनौट चरणमा खेलिएका सबै खेलमा पराजित भएर सुपर ८ मा जान नसकेपछि नेपालको यात्रा समाप्त भएको हो ।



अमेरिका र वेष्ट इण्डिजमा जारी विश्वकप नेपालका लागि दश वर्षपछि पाएको सुनौलो अवसर थियो । सन् २०१४ पछि दोस्रो पटक विश्वकपमा सहभागी नेपालको खेलले विश्वभर चर्चा पायो । तर, आफ्नो पक्षमा जित निकाल्न असफल भयो ।

समूह ‘डी’मा रहेको नेपालले आफ्नो समूहको चार खेलमध्ये तीन खेलमा पराजित बन्न पुग्यो । श्रीलंकासँगको एक खेल वर्षाका कारण अंक बाँडेको थियो । मैदानमा कडा प्रतिस्पर्धाका बीच कुनै पनि खेलमा जित निकाल्न नसकेको नेपालले विश्वभर आफ्नो छाप भने छाड्न सफल भएको छ ।

प्रतियोगितामा नेपालले अमेरिका र वेष्ट इण्डिजमा दुई–दुई खेल खेलेको थियो । जसमा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि सुरुका दुई खेल गुमाए । वेष्ट इण्डिजमा भएको दुई खेलमा उनले व्यक्तिगत दुई विकेट लिँदै टी २० क्रिकेटमा सबैभन्दा कम खेलमा एक सय विकेट लिने कीर्तिमान बनाए ।

नेपालले खेलेको तीन खेलमा जम्मा ३०५ रन मात्रै बनाउन सक्यो । यस्तै, यी खेलमा नेपालले २१ विकेट लिन सफल भयो । यी खेलमा नेपालले पर्याप्त विकेट लिन सफल भए पनि रन बनाउन नसक्दा समूह चरणबाट बाहिरिएको यर्थाथ हुन्छ ।

नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा बलिङ र ब्याटिङमा कमजोर बनेको नेपाल बाँकी खेलमा धारिलो बलिङ गरेको थियो । तर, कमजोर ब्याटिङका कारण झिनो लक्ष्य पछ्याए पनि विजयी हुन सकेन ।

कमजोर ब्याटिङ

नेपाली टोली हार्नुको मुख्य कारण ब्याटिङ बन्यो । ठूलो प्लेटफर्म पाएको नेपाली खेलाडीले जम्मा ३०५ रन बनाउँदा ३३० रन बेहोर्नु पर्यो । खेलाडीले रन बनाउन नसक्नुमा विश्वकप दबाब, खराब सट र कमजोर मानसिकता बन्यो ।

नेपालका लागि सर्वाधिक रन विकेटकिपर तथा ओपनर आसिफ शेखले तीन खेलमा सर्वाधिक ६४ रन बनाए । उनले दक्षिण अफ्रिकाविरुद्ध ४२ रन बनाए । यो नै सर्वाधिक उच्च स्कोर बन्न पुग्यो । कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध बनाएको ३५ रनसहित जम्मा ३६ रन बनाए ।

तीन खेलमा नेपालका कुशल मल्लले ३७, दीपेन्द्रसिंह ऐरी ३२, कुशल भुर्तेल २४, गुल्सन झा २०, करण केसीले १७, सोमपाल कामीले ८ र सन्दीप जोराले १ रन बनाए । प्रतियोगितामा सहभागी भएका सागर ढकाल, अभिनाश बोहोरा र सन्दीप लामिछानेले एक रन पनि बनाउन सकेनन् ।

प्रतियोगितामा नेपालले जति बल डट खेलेका थिए । त्यसको आधा मात्रैमा एक रन लिन सकेको भए सबै खेलमा विजयी हुँदै सुपर ८ मा प्रवेश गर्न सक्ने थियो ।

कमजोर फिल्डिङ

खेलमा नेपालको कमजोर पक्ष फिल्डिङ पनि बन्यो । नेपालका खेलाडीले सहजै लिन सक्ने विकेटमा समाउन सकेनन् ।

कप्तान रोहित पौडेलदेखि कुशल भुर्तेलसम्मले विपक्षी टोलीका खेलाडीले हानेको बल समाउन सकेनन् । यस्तै, सहजै रोक्न सक्ने बल चौकामा परिणत बन्न पुग्यो । जसले नेपाली खेलाडीमाथि विपक्षी टोली हाबी बनेको थियो ।

कमजोर मनोबल

नेपाली खेलाडीले पाएको सबैभन्दा ठूलो स्थान हो, विश्वकप । विश्वकपमा सहभागी हुँदै गर्दा नेपाली खेलाडीको मनस्थितिमा दबाब परेको सहज अनुमान लगाउन सकिन्थ्यो ।

यसमाथि स्टार खेलाडी सन्दीप लामिछाने टोलीमा नहुँदा पराजित गर्दै आएको टोली नेदरल्याण्डससँग पनि पराजित बन्न पुग्यो । जुन ब्याटिङमा स्पष्ट देखिन्थ्यो ।

ब्याटिङमा एउटा खेलाडी आउट भएपछि अरु खेलाडी टिक्न सकेनन् । जस्तै, पहिलो खेलमा दुई ओपनर आउट भएसँगै कप्तान पौडेलबाहेक कुनै खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो खेलमा पनि दुई ओपनर आउट भएपछि अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बंगलादेशविरुद्धको खेलमा नेपाली खेलाडीको मनोबल थप कमजोर बन्न पुग्यो ।

जसले गर्दा पाँच जना खेलाडी शून्य रनमा आउट भए । कप्तान पौडेल र सन्दीप जोराले एक–एक रन मात्रै बनाउन सक्यो । ठूला टोलीसँग कमजोर मनोबल बन्नु नै ब्याटिङ नचल्नुको मुख्य कारण बनेको देखिन्छ । तर, यी दुई खेलमा नेपालको बलिङ घातक बनेका थियो ।

अनुभवको कमी

नेपाली खेलाडीले ठूला टोलीसँग खेलेको अनुभव सीमित छ । गत वर्ष सम्पन्न एसिया कपमा पाकिस्तान र भारतसँग खेलिएको खेल नै नेपाली खेलाडीको ठूलो अनुभव हो ।

अनुभवको कमी हुँदा खेलाडीहरु ठूला टोलीसँग टिक्न सकेनन् । जसले गर्दा दक्षिण अफ्रिकाविरुद्ध सहज जित निकाल्ने सक्ने अवस्थामा जम्मा एक रनले हार बेहोर्न पुग्यो ।

यस्तै, बंगलादेशविरुद्ध अग्र पंक्तिका ब्याटरहरु टिक्नुभन्दा ठूला सट हान्ने प्रयास गरे । घातक बलिङ गरिरहेका बलरसामु निरीह बन्न पुगे । जसले गर्दा ताञ्जिम हसन साविकले चार ओभर बलिङ गर्दा जम्मा सात रन दिएर चार विकेट लिने मौका पाए । यस्तै, मुस्ताफिजुर रहमानले चार ओभर बलिङ गर्दै सात रन दिएर तीन विकेट लिए । घातक बलरविरुद्ध एकपछि अर्को विकेट लिन मौका दिनु अनुभवको कमी हो ।

यसैगरी, नेपाली खेलाडीलाई राति हुने खेलको अनुभव कमी भएको स्पष्ट हुन्छ । लाइटमा खेल्न नसक्नु नेपाली खेलाडीको अनुभव कमी हो । दक्षिण अफ्रिकाविरुद्धको खेलमा ओपनर रिजा हेन्डरिक्सको क्याच छाडेका कुशल भुर्तेलले खेलपछि भनेका थिए, ‘मैले लाइटले गर्दा बल देख्न सकिनँ ।’

उनको यो भनाइले प्रमाणित गर्छ कि– नेपाली खेलाडीलाई लाइटिङमा खेल्न अनुभव नभएको स्पष्ट भएको छ ।

यसैबीच नेपाली टोलीमाथि विश्वभर रहेका समर्थकको उच्च आकांक्षा देखिएको थियो । नेपाली टोलीको हौसला र समर्थकका कारण नेदरल्याण्ड्सका खेलाडीले समेत अनौठो प्रतिक्रिया दिएका थिए । नेदरल्याण्ड्सका बलर लोगान भान बिकले भनेका थिए, ‘मलाई कन्फ्यूज्ड भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा (अमेरिका) ।’ उनले यसो भन्नुको अर्थ– कतै खेलाडीको खेलभन्दा समर्थकको आकांक्षा धेरै भएको होइन ? भन्ने संकेत थिएन ।

विश्वकपमा नेपाली टोलीले कुनै पनि खेलमा जित निकाल्न नसके पनि विश्वको ध्यान तान्न सफल भएको छ । मूलतः दक्षिण अफ्रिकाविरुद्धको खेलका कारण विश्वको ध्यान नेपालमा केन्द्रीत गराउन सफल भएको हो । यस्तै, बंगलादेशविरुद्धको बलिङले पनि विश्वलाई नेपाली क्रिकेटले आगामी दिनको भविष्य खोजेको देखाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट