काठमाडौं । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडक खण्ड अवरुद्ध भएको छ ।
बेँसीसहर नगरपालिका १ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईले जानकारी दिए ।
सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।
बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर हुँदै जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ ।