काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३-४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन् ।
उनले जिल्लाको नाम तोक्दा आलोचना हुन्छ भनेर कार्यक्रम मात्र लेखेरसमेत बजेट छुट्याइएको आरोप लगाए । उनले कुन विधि र तरिकाबाट आफ्नो र केही नेताको जिल्लामा मात्र बजेट छुट्याएको हो भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष लिङ्देनले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै मन्त्रीलाई यस्तो काम गरेकोमा धन्यवाद दिएका छन् ।
उनले भने, ‘म त तपाईलाई धन्यवाद नै दिन्छु, किनकी हामीले यो व्यवस्थाले काम गर्दैन भनेर भनिरहेको बेला तपाईंहरुले यसलाई पुष्टि गरिरहनु भएको छ, तपाईंहरुलाई धन्यवाद छ ।’
यसअघि राप्रपाकाकै सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका थिए ।
सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाउँदै कूल बजेटको १० प्रतिशत बजेट दुई जिल्लामा हालेको आरोप लगाए । उनले सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाए ।
मन्त्री महासेठले धनुषामा ८ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको र झापामा ६ अर्ब ७० करोड बजेट विनियोजन गरेको आँकडा प्रस्तुत गरेका थिए । सांसद शाहीले कर्णालीका १० जिल्लाले ७ अर्बको बजेट विनियोजन गरेको उल्लेख गरे ।