काठमाडौं । महाधिवेशनको सरगर्मीले तात्तिएको एकीकृत समाजवादीभित्र आगामी नेतृत्व को ? भन्ने कोणबाट बहस सुरु भएको छ । विशेषगरी सुरुवाती अवस्थामै तीन नेताको नामबारे चर्चा हुन थालेको छ । जसमा वर्तमान अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल देखिएका छन् ।
वर्तमान अध्यक्ष नेपालकै नेतृत्वमा तीन वर्ष अगाडि एमालेबाट चोइटिएर एकीकृत समाजवादी बनेको थियो । नयाँ पार्टी बनाएका अध्यक्ष नेपाल पार्टी नेतृत्वमा दोहोरिन चाहन्छन् । पार्टी बनाउने अभियानमै रहेको तर्कसहित अध्यक्ष नेपालले नेतृत्वमा विकल्प खोजिन नहुने भनाई राख्दै आएका छन् ।
तर, पार्टी विभाजनमा सघाएका सम्मानित नेता झलनाथ खनाल स्वयम् नै आगामी नेतृत्वमा नेपाललाई दोहोरिन नदिने पक्षमा देखिएका छन् । पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकिरहेको बताउने गरेका खनाल सकेसम्म नेतृत्व हत्याउने रणनीतिमा देखिन्छन् ।
खनालले विशेषगरी अध्यक्ष नेपालसँग नीति, कार्यक्रम, कार्यदिशा र सिद्धान्त स्पष्ट नभएको बताउने गरेका छन् । जसको लागि आफैँले नेतृत्व लिनुपर्ने तर्क खनालको छ ।
उसो त नेपाल र खनालबीच मतभेद र सहकार्यको अनौठो सम्बन्ध छ । करिब छ दशकदेखि नै सहकार्यमा जोडिएका नेपाल र खनालबीच सधैँ प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धाकै बीच दुवैले एमालेको नेतृत्व मात्रै सम्हालेका छैनन्, दुवैले देशकै नेतृत्व पनि पाएका छन् ।
अहिले एकीकृत समाजवादीभित्र नेपाल र खनालबीच नेतृत्वको लागि संघर्ष चलिरहँदा महासचिव घनश्याम भुसालले पनि आफूलाई अगाडि सार्ने योजना बनाएका छन् । उनले आफूलाई आगामी नेतृत्वको रुपमा अथ्र्याउने प्रर्यत्न गरिरहेका छन् ।
एमालेभित्र नेपाल र खनालबीचकै मतभेदमा खेलेर वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व हत्याएका थिए । अहिले एकीकृत समाजवादीभित्र नेपाल र खनालबीचको संघर्षमा खेल्दै भुसाल नेतृत्व हत्याउने दौडमा देखिएका छन् ।
हुन पनि खनाल सकेसम्म आफू नै नेतृत्वमा पुग्ने नसके अरुलाई अघि सार्ने रणनीतिमा देखिन्छन् । उनले प्रष्टरूपमा अध्यक्ष नेपालको नेतृत्वको विकल्प खोज्नै पर्ने बताउँदै आएका छन् । यस्तोमा भुसाललाई अवसर देखिएको छ ।
जसमा पार्टीभित्रको युवा पुस्ता पनि भुसालको पक्षमा देखिएको छ । रामकुमारी झाँक्रीले जसबारे सार्वजनिकरूपमै संकेत गरिसकेकी छिन् ।
जसको साहारा, उसैलाई धक्का
अहिले विशेषगरी एकीकृत समाजवादीभित्र भुसालको तयारीलाई लिएर रोचक टिप्पणीहरू भइरहेका छन् । हुन पनि अध्यक्ष नेपालकै सदाशयतामा भुसाल एकीकृत समाजवादीमा भित्रिएका थिए ।
एकीकृत समाजवादी आउनुपूर्व भुसाल एमालेभित्र उपमहासचिवको जिम्मेवारीमा थिए । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट बनेका भुसालले चुनावअघि पार्टी परित्याग गरेका थिए । एमाले छाडेको दुई महिनापछि भुसाल २०७९ पुष २९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
एमाले छाडेपछि यता न उताका भएका भुसाललाई अध्यक्ष नेपालले नै पार्टीमा भित्र्याएका थिए । सँगै उनलाई पार्टी महासचिवको पद पनि दिलाएका थिए ।
अर्को रोचक विषय, पार्टी विभाजनको सम्मुखमा अध्यक्ष नेपाललाई भुसाललगायतले असहयोग गरेका थिए । नेपाल पक्षले पार्टी दर्ताको प्रक्रियामा लैजाँदै गर्दा अन्तिम समय भुसालसहितका नेताहरू १० बुँदे सहमति गर्दै एमाले फर्किएका थिए ।