आफ्नै कार्यशैलीप्रति मन्त्रीहरू आफैं असन्तुष्ट !-Sutra News

आफ्नै कार्यशैलीप्रति मन्त्रीहरू आफैं असन्तुष्ट !

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । विगतदेखि वर्तमानसम्मका जुनसुकै सरकारका जुनसुकै मन्त्रीहरूसँग औपचारिक प्रश्न सोध्ने हो भने आफूले गरेका कामका फेहरिस्त प्रस्तुत गर्छन् । आफ्नो गल्ती कमजोरी ढाकछोप गर्न र भयङ्कर नै काम गरेको देखाउन यो देशमा कसैले जानेको छ भने ती मन्त्री नै हुन् ।



तर ‘आफ्नै मन, आफैसँग ढाँट्न नमिल्ने’ भने झैँ, बेला–बेलामा अलि ठण्डा दिमागले सोच्न भ्याएर हो कि, हाम्रा मन्त्रीले काम गर्न नसकेको बक्दा पनि रहेछन् । पुरानादेखि पुरानैहरूको कार्यशैलीविरुद्ध बोलेर नयाँ सोँचका साथ काम गर्ने भन्दै जनताको विश्वास जितेर आएकाहरूको समेत मन्त्री बनेपछि उस्तै–उस्तै शैली देखिएको छ ।

सबैभन्दा पहिले यसअघिको गठबन्धन सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई सुनौँ । हालै सूत्रसँगको कुराकानीमा उनले मन्त्रीका रुपमा आफूले काम गर्न नसकेको स्वीकारेका छन् । संसददेखि हरेक औपचारिक फोरमहरूमा कडा कुरा गर्दै आएका धनराजको यो स्वीकारोक्ति नेताहरूले गर्ने चर्का कुरा र कामबीचको अन्तरको एउटा गतिलो उदाहरण हो ।

तर, तत्कालीन मन्त्री गुरुङले आफूले सोचेजस्तो काम गर्न नसकेको दोष कर्मचारीतन्त्रलाई दिन्छन् । उनले यतिसम्म भनेका छन् कि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले भन्नुभएको काम चाँडो सम्पन्न गर्नु भनेर आदेश दिँदा पनि काम भएन ।

त्यसो त कर्मचारी संयन्त्रलाई दोष दिने गुरुङ एक्ला मन्त्री चाहिँ होइनन् । मन्त्री मात्र होइन यो देशका प्रधानमन्त्रीले समेत यस्तो बहाना बनाएर आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयत्न गरिसकेका छन् ।

प्रधानमन्त्री भएका बेला माधव नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओली र वर्तमान प्रधानमन्त्री प्रचण्डले समेत कर्मचारीतन्त्रले सहयोग नगरेको आरोप लगाएका छन् । कार्यकारी अधिकार भएकाहरूले मातहतमा रहेकाले काम गर्न दिएनन् भन्नु शोभनीय कुरा हो ?

वर्तमान सरकारको सन्दर्भमा चर्चा गर्दा, सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त खल्तिमै राजीनामा बोकेर हिँडेको बताएका छन । रास्वपाको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आफ्नो मात्र कुरा गरेनन् रास्वपा नै सरकारबाट बाहिरिन तयार रहेको बताए ।

कुनै त्यस्तो सम्झौता गर्नुपरे हामी सरकारबाट बाहिरिन्छौँ भन्ने उनको मूलमर्म थियो । अर्थात् कुनै पक्षले दवाव दिएको छ र मन्त्रीका रुपमा उनले जुन हिसाबले काम गर्नुपर्थ्यो त्यो गर्न नसकेको उनको गुनासो थियो ।

रास्वपाकै सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले समेत १०० दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा नराम्रो काम नगरेको कुरामा जोड दिएका थिए । उनले हामीले राम्रो काम गर्न नसकेपनि नराम्रो काम चाहिँ गरेका छैनौँ ।

सरकारसँग कार्यकारी अधिकार हुन्छ । हरेक मन्त्रालयका मन्त्रीले मन्त्रालयको क्षेत्राधिकारभित्रको निर्णय गर्न र कार्यसम्पादन गर्न गराउन सक्छन् । एउटा मन्त्रीलाई प्रधानमन्त्री बाहेक अरु कसैले पनि काम गर्नबाट रोक्न सक्दैन ।

कसैले कर्मचारीतन्त्रलाई दोष दिने, कसैले विभिन्न बाधा अवरोधको बहाना बनाउने अनि कसैले नराम्रो काम गरेका छैनौ भनेर लोकलाज टार्ने ठाउँ होइन, मन्त्रालय र मन्त्री पदको जिम्मेवारी । पुरानादेखि तिनै पुरानाको कार्यशैलीको विरोध गर्दै सांसद हुँदै मन्त्री बनेकाहरूको यस्तो आशय र अभिव्यक्तिले परिणाम दिँदैन । जनताले चाहेको भनेको परिणाम मात्र हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट