सेयर बजारमा किन छायो निराशा ?-Sutra News

सेयर बजारमा किन छायो निराशा ?

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । असार लागेसँगै सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालोमा छ । मंगलबार (१८.७६ अंक)सहित असारको दुई कारोबार दिनमा मात्रै नेप्सेमा ३५.८ अंकको गिरावट भएको छ ।



मंगलबार नेप्से परिसूचक मात्रै घटेन, कारोबार रकम पनि ह्वात्तै घट्यो । सरदर पाँच अर्बभन्दा माथिको कारोबार भइरहँदा मंगलबार चार अर्बमै कारोबार सीमित भयो ।

कारोबार रकम घट्नुलाई यसकारण पनि सामान्य मान्न मिल्दैन किनभने यसले लगानीकर्ताको सहभागितालाई देखाउँछ । जसका आधारमा हेर्दा, लगानीकर्ता सेयर बजारप्रति आकर्षित देखिन्नन् ।

अहिले सेयर बजारमा विशेषगरी विद्याधर मल्लिक नेतृत्वको कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले तयार गरेको प्रतिवेदनको चर्चा छाएको छ । जुन समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा समेटिएका विषयबारे अहिले सेयर बजारमा चर्चा चलेको छ । जससँगै लगानीकर्ता हतोत्साहित भएको विश्लेषण बजारमा देखिन्छ ।

हुन पनि उक्त प्रतिवेदनले व्यवसायिकरुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउन सिफारिस गरेको छ । जसको अर्थ सेयर कारोबारबाट गरेको नाफालाई पनि वार्षिक आम्दानीको रुपमा गणना गरी अन्य व्यवसायसरह आयकर तिर्नुपर्ने हुन्छ ।

प्रतिवेदनअनुसार सेयर लगानीकर्ताले हालको दरअनुसार ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ । हाल कार्यान्वयनमा रहेको आयकरको व्यवस्थाअनुसार वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्दा ३९ प्रतिशत करको व्यवस्था रहेको छ ।

यदि समितिको प्रतिवेदन कार्यान्वयन भएमा सेयर लगानीकर्ताले पनि सेयर कारोबारबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आर्जन गर्दा अन्य व्यवसायसरह ३९ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

यसका साथै, समितिले पूँजीगत लाभकरसमेत बढाउन सुझाव दिएको छ । समितिले एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७।५ प्रतिशत कर कायम गर्न सुझाव दिएको छ ।

हाल १ वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गर्नेलाई ७।५ प्रतिशत पूँजीगत लाभकर र १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गर्नेलाई ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था रहेको छ ।

समितिको उल्लेखित सुझाव कार्यान्वयन हुनेमा शंका छ, ठूला लगानीकर्ताहरु समितिको सुझाव सार्वजनिक भएसँगै विरोधमा उभिएका छन् ।
यद्यपि, जसको चर्चा बजारमा फैलिँदा अन्य लगानीकर्ता भने हतोत्साहित हुन थालेका छन् । जसको प्रभाव स्वरुप बजारमा निराशा जगाउने गरी घट्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट