साम्राज्ञी र धिरजको ‘रुमानी रंग’ बिच बाटोमै अड्कियो, बाहिरिए निर्देशक-Sutra News

साम्राज्ञी र धिरजको ‘रुमानी रंग’ बिच बाटोमै अड्कियो, बाहिरिए निर्देशक

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । फिल्म ‘रुमानी रंग’बाट निर्देशक अनिल योञ्जन बाहिरिएका छन् । ४ महिना अगाडि यो फिल्मको निर्माणको घोषणा गरिएको थियो । बैशाखको अन्तिमा साताबाट छायांकन सुरु गर्ने बताइएपनि अहिलेसम्म सुरु हुन सकेन ।



ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको ९० प्रतिशत छायाकंनमा अस्ट्रेलियामा हुने भनिएको थियो । तर, फिल्म सुटिङमा नजाँदै लफडामा पर्नुका साथै निर्देशक योञ्जनले यो फिल्मबाट हात झिकीसकेको घोषणा गरेका छन् ।

मङ्गलवार सामाजिक सञ्जालमा स्टाटस लेख्दै योञ्जनले यो फिल्मबाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘धेरै विचार पछि मैले ‘रुमानी रङ्ग’बाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेँ, मैले आधिकारिक रूपमा यो परियोजनाबाट २ जुनमा राजीनामा दिएको थिएँ, मेरो राम्रो प्रयास र प्रतिबद्धताका बाबजुद फिल्मको प्रगतिमा प्रभाव पार्ने आधारभूत समस्याहरू देखे पछि, जुन मुख्यतया निर्माण टिमको संलग्नता, चासो र सङ्गठनात्मक प्रभावकारिताको अभावले उत्पन्न भएका थिए, यी समस्याहरूले ढिलाइ निम्त्याएको थियो र फिल्मको गुणस्तर र सम्भावित सफलतामा असर पर्ने देखे पछि मैले राजीनामा दिएको हो।’

फिल्मबाट योञ्जन वाहिरिएसँगै यसका निर्माता नयाँ निर्देशकको खोजीमा लागिपरेका छन् । यो फिल्मका प्रस्तुत कर्ता जिएम ठकुरी हुन् भने हरि मल्ल ठकुरी निर्माता हुन्। सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह निर्माता हुन् ।

यो फिल्मको मुख्य भूमिकामा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भएको थियो । तर, अब निर्देशकले नै ‘रुमानी रंग’बाट हात निकालेपछि यो फिल्म निर्माण होला कि नहोला त त्यो भने कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट