काठमाडौं । अहिले वेष्ट इण्डिज र अमेरिकामा नवौँ संस्करणको टी २० विश्वकप जारी छ । यसका लागि आजदेखि सुपर आठ टोलीको खेल सुरु हुँदै छ ।
जारी विश्वकपमा उपाधिका दाबेदार मानिएको टोली पाकिस्तान बाहिरिसकेको छ । यस्तै, कमजोर मानिएको टोली अमेरिकाले आज दक्षिण अफ्रिकासँग खेल्दै छ ।
विश्वकपमा खेल जारी हुँदै गर्दा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने आईसीसीले जनाएको छ । जुन अलिहेसम्मको सबैभन्दा ठूलो राशी हो ।
यस विश्वकपमा २० देश सहभागी भएकामध्ये १२ देश बाहिरिसकेको छ । आईसीसीले विश्वकपमा एउटा पनि खेल जित्न नसकेको टोलीका लागि समेत पुरस्कार दिने व्यवस्था गरेको छ ।
यस विश्वकपको विजेता टोलीले २.४५ मिलियन डलर पुरस्कार पाउने भएको छ । उपविजेताले १.२८ मिलियन डलर पाउने छ ।
त्यसैगरी सेमिफाइनलमा पराजित हुन दुई टोलीले सात लाख ८७ हजार ५०० डलरका दरले पाउने छन् । सुपर ८ मा पुगेर बाहिरिएका चार टोलीले ३ लाख ८२ हजार ५०० डलरका दरले पुरस्कार पाउने छन् ।
नवौँदेखि १२ औँ स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् । १३ देखि २० औँ स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् ।
विश्वकपमा कुनै पनि देशले एक खेल जितेमा थप ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ ।
विश्वकपमा दोस्रो पटक सहभागी नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन । जसका कारण नेपालले २ लाख २५ हजार डलर अर्थात दुई करोड ९९ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने भएको छ । खेलाडीहरूले खेलेको बापत पनि पैसा पाउने गरेका छन् ।