काठमाडौं । पछिल्लो केही दिनदेखि काठमाडौं महानगरभिर रहेको कवाडी व्यवसायीहरूले मेयर बालेन साहविरुद्ध सडकमा उत्रिएका छन् । महानगरभित्र रहेका कवाडी व्यवसायीलाई हटाउने योजनासहित मेयरले निर्देशन दिएसँगै आन्दोलन भएको हो ।
यस क्रममा कवाडी व्यवसायीलाई साथ दिँदै बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आवाज उठाएका छन् । सांसहहरूले शान्तिपूर्ण प्रदर्शन हुँदै गर्दा प्रहरीले दबाब दिएको सांसदहरूले आरोप लगाएका थिए ।
सांसद प्रभु साहले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दबाब दिएको भन्दै आपत्ति जनाएका थिए । आम जनता पार्टी (आजपा)का अध्यक्षसमेत रहेका उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी महानगरले डोजर आतंक मच्चाएको आरोप लगाए ।
‘हिजो कवाड व्यवसायीको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ, झण्डै ५० जना घाइते भएका छन्, एक दर्जन गम्भीर घाइते भएका छन्,’ उनले भने, ‘टाउको फुटेको छ, उनीहरू वीर अस्पतालमा भर्ना भएका छन् ।
यस्तै, अर्का सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर राखिदिन चेतावनी दिए ।
संसदमा बोल्दै सांसद सिंहले मेयर बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडि थुपारिदिन आग्रह गरे । उनले पनि कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन भएको भन्दै आक्रोश पोखे ।
यस क्रममा उनले कवाडी व्यवसायीमाथिको दमनलाई आफूले मधेसीमाथिको दमनका रुपमा हेरेको बताए । उनले काठमाडौंमा हुने अन्य आन्दोलनभन्दा मधेसी जनताले गरेको आन्दोलनमा दमन हुने दाबी गरे ।
संसदमा दुवै सांसदले राजधानीभित्रै संवैधानिक अधिकार हनन गरेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई जवाफ दिन सभामुखमार्फत रुलिङ गरेका थिए ।