उत्तर कोरिया पुगे पुटिन, किमले गरे भव्य स्वागत-Sutra News

उत्तर कोरिया पुगे पुटिन, किमले गरे भव्य स्वागत

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् । पुटिनलाई शासक किम जोङ उनले विमानस्थलमा स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीको प्रतिनिधिमण्डल सहभागी छ । जसमा परराष्ट्रमन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल छन् ।



पुटिनको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो । दुवै नेताले एकअर्कालाई अँगालो हालेका थिए । त्यसपछि पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो ।

चोकलाई रंगीन बेलुनले सजाइएको थियो । पुटिनको गाडी हेर्न हजारौँ मानिस सडकमा भेला भएका थिए । उनको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो ।

यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर टाँसिएका थिए । पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो ।

यसै क्रममा त्यहाँ जम्मा भएका बालबालिकाले हातमा रंगीन फूल बोकेका थिए । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि उपस्थित थिइन् ।

बीबीसीका अनुसार पुटिनको स्वागतका लागि भव्य परेडबाहेक प्योङयाङको १०५ तले रुग्योङ होटललाई एलईडी बत्तीले सजाइएको थियो । त्यसमा ‘वेलकम पुटिन’ र ‘फ्रेन्डशिप’ लेखिएको देखियो ।

रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार दुई नेताबीच द्विपक्षीय बैठक पनि भएको थियो । यस क्रममा पुटिनले युक्रेन युद्धमा रुसलाई सहयोग गरेकोमा किम जोङलाई धन्यवाद दिएका थिए ।

पुटिनले नयाँ आधारभूत दस्तावेजको पनि घोषणा गर्दै दुई देशबीचको सम्बन्धको जग बलियो बनाउने घोषणा गरेका छन् । पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध बलियो भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज तयार भएको छ ।

पुटिनले अमेरिकाको धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने बचन दिएका छन् । भेटमा पुटिनले अमेरिकी दबाब, ब्ल्याकमेल र धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने वाचा गरेका थिए ।

रुसी राष्ट्रपतिले किम जोङलाई रुस भ्रमणको निम्तो पनि दिएका छन् । किम यसअघि सेप्टेम्बर २०२३ मा रुसको भोस्टोचनी कस्मोड्रोम पुगेका थिए, जहाँ पुटिनले उनलाई स्वागत गरेका थिए ।

सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेका किम जोङ उनले आफ्ना पिता जस्तै रुस र चीनसँग राम्रो सम्बन्ध बनाउने प्रयास गरेका छन् । रुसले सन् २०१२ मा उत्तर कोरियाको सबै ऋण माफ गरेको तथ्यबाट पुटिनसँग किम जोङ उनको निकटताको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट