काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित सात जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
भ्रष्टाचारको आरोपमा उनीहरूलाई विशेष अदालतले जनही २ देखि ८ वर्षसम्म कैद हुने गरी सजायसमेत तोकेको छ ।
अदालतले मंगलबार उनीहरूविरुद्ध कैद निर्धारण गरेको हो । यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले सात जना अधिकृतलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
भ्रष्टाचार गर्ने अधिकृतहरूमा हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारी रहेका छन् ।
अदालतले मालपोत अधिकृत मिश्र, बोगटी र तिवारीलाई ८-८ वर्ष, ढुङ्गानालाई ४ वर्ष, अर्याललाई २ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको निधन भइसकेको छ । उनलाई विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ ।
उपाध्यायको यो बिगो अब विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नु पर्ने फैसला पनि विशेषले सुनाएको छ ।
उता मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नु पर्ने भएको छ । त्यस्तै ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ ।
अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नु पर्ने भएको छ ।
अख्तियारले तत्कालीन मालपोत अधिकृत हरिनारायणविरुद्ध दुई करोड नौ लाख ३१ हजार ६४७ रुपैयाँ राजश्व हिनामिनाको मुद्दा चलाएको थियो ।
त्यसैगरी अर्का मालपोत अधिकृत बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ हिनामिना गरेको मुद्दा थियो ।