काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले चितवन पुगेर सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् ।
बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको बताए । त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको उनको दाबी थियो ।
उनले मलेसियाका गृहमन्त्रीको भनाइ उद्धृत गर्दै जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए । उनले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोशिस जारी रहेको बताए ।
गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरी नेपाल फर्काइदिन अनुरोध गरेको थियो ।
तर, औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेसियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन ।