काठमाडाैं । दुई नयाँ नेपाली फिल्म ‘दान्भी’ र ‘आचार्य’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।
असार ७ गते अर्थात् भोली शुक्रबारबाट एकसाथ प्रदर्शनमा आउन लागेका दुई फिल्म मध्य आक्रामक प्रचार प्रसारका कारण चर्चामा रहेको दान्भीलाई अधिकांश हलहरूले उत्साहजनक शोज उपलब्ध गराएका छन् । यसैगरी फिल्म ‘आचार्य’लाई अधिकांश हलहरुले हालसम्म खुलाएको बुकिङलाई हेर्दा न्यून शोज दिएका छन् । प्रचार प्रसार नभएका कारण फिल्म ‘आचार्य’ले अपेक्षा गरेजस्तो धेरै शो नपाएको देखिन्छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘दान्भी’लाई उच्च शो दिएको छ । काठमाडौंमा १६ दिएको क्यूएफएक्सले उपत्यका बाहिर ३१ शो प्रदान गरेको छ । यता, ‘आचार्य’ क्यूएफएक्सले उपत्यकामा २ शो र बाहीर ३ शो उपलब्ध गराएको छ ।
देशकै दोस्रो ठूलो चेन आईएनआईले आफ्नो आउटलेटमा ‘दान्भी’लाई १२ शो उपलब्ध गराउँदा ‘आचार्य’लाई एक एक शो प्रदान गरेको छ । यसैगरी, अर्को ठूलो मल्टिप्लेक्स चेन वान सिनेमाजले दान्भीलाई ७ आचार्यलाई ३ शोज दिएको छ भने आचार्यलाई ३ शोज आफ्नो आउटलेटमा उपलब्ध गराएको छ ।
यस्तै, अन्य मल्टिपेलेक्श हलहरु एफक्यूब तीन, विग मुभिजले सम्मान ४ शोज ‘दान्भी’लाई दिएका छन् । आचार्यलाई विग मुभिजले दुई शोज एफक्यूबले एक शोज दिएका छन् ।
रूपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ एक्सन लभस्टोरी फिल्म हो। यसमा पूजा शर्मा र कुन्साङ बम्जनको मुख्य अभिनय छ। पूजाले पहिलोपटक यो फिल्ममा एक्सन भूमिका निर्वाह गरेकी छन्। फिल्ममा काम गर्न एक्सनले नै आकर्षित गरेको उनको भनाई छ।
फिल्मका लागि धेरै मेहनत गरेको बताउँदै हेरिरहेका भन्दा यसमा फरक एक्सन देख्न पाइने पूजाले बताएकी छन्। यसको रनटाइम २ घण्टा ५ मिनेट छ।
यसैगरी, ‘आचार्य’ भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म हो। यो फिल्म १३ वर्षअघि निर्माण भएर प्रदर्शन भएता पनि गत वर्ष निधन भएका आचार्यलाई श्रद्धाञ्जली स्वरूप पुनः रिलिज गर्न लागिएको हो। फिल्ममा आचार्यको बाल्यकालदेखि संघर्ष, संगीत क्षेत्रको उत्कृष्ट समय, स्वर गुमेको घटनालाई प्रस्तुत गरिएको छ। उनको निधन पश्चातका दृश्यहरू पनि समेटेर नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शनमा ल्याउन लागिएको छ।
प्रशान्त रसाईलीको निर्देशन रहेको फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन्। फिल्ममा सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ। यो फिल्म २ घण्टा १७ मिनेट लामो छ।
यो फिल्मलाई रोशन राईले निर्माण गरेका हुन् ।
दुईवटै फिल्मको शुक्रबारदेखि हलमा देखिने दर्शकको चापका आधारमा शोज हेरफेर हुने सम्भावना देखिन्छ । व्यावसायिक भविष्य भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।