काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को बुधबार प्रिमियर शाको आयोजना गरिएको थियो ।
भक्तराजप्रति ट्रिब्युट रहेर भोली शुक्रबारबाट पुनः प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौँको कमलपोखरी स्थित विग मुभिजमा आयोजना गरिएको उक्त प्रिमियरमा फिल्म हेरे सबैले राम्रो रहेको प्रतिक्रिया दिए ।
उपस्थित अधिकांशले यो फिल्मको कथावस्तु, प्रस्तुति र सत्यराजको अभिनयको खुलेरै तारिफ गरे । भक्तराजलाई महशुश गर्नका लागि यो फिल्म हेर्न आवश्यक रहेको अधिकांशको भनाई थियो ।
गत फागुनमा निधन भएका गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’लाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको हो । १५ बर्ष अगाडि निर्माण भएको यो फिल्म सो समयमा प्राविधिक कारणले धेरै हलमा रिलिज हुन सकेको थिएन ।
फिल्ममा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना देखाइएको छ । भक्तराजले पाएको सफलता र करियरका लागि गरेको संघर्षको कथा फिल्ममा छ । २०४६ सालमा सांघातीक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि फिल्मले देखाउनेछ ।
फिल्म ‘आचार्य’मा गायक आचार्यको भूमिकामा सत्यराज आचार्यले निवार्ह गरेका छन् । फिल्मका निर्मातासँगै उनी भक्तराज आचार्यका छोरासमेत रहेका सत्यराज हुन् । उनले फिल्ममा बाबुको जीवन बाँचेका छन् ।
पहिलो पटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताएका छन् । फिल्म बुबाप्रति ट्रिब्युट हुने सत्यराजको भनाइ छ ।
प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा सत्यराजसहित सुनील पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतको अभिनय छ । अरुणाले भक्तराजको श्रीमती भएर खेलेकी छिन ।
देवजंग थापाले पुन सम्पादन गरेको चलचित्रलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन गर्नेछ । १५ बर्षपछि केही दृश्य सम्पादन गरेर रिलिज गरिएको यो फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।