काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमाथि सदनमा छलफल चलिरहेको छ । सांसदहरुले बजेटमाथि आफ्नो धारणा राखिरहेका छन् । रोचक विषय, बजेटका अन्तरवस्तुमाथि छलफल चलिरहँदा प्रतिपक्षसँगै सत्ता पक्षबाट पनि विरोध भइरहेको छ ।
अहिले विषयगरी मन्त्रालयगत छलफल चलिरहँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैको विरोधको तारो बनिरहेका छन् । मन्त्रालयगतरुपमा महासेठले समेटेको कार्यक्रममाथि प्रतिपक्षीबाट मात्रै नभई सत्ता पक्षबाटै पनि तिव्र असन्तुष्टि व्यक्त भएको छ । जसमा रोचक विषय, स्वयम् महासेठ आवद्ध पार्टी नेकपा (एमाले)का सांसदहरु समेत विरोधमा उभिएका छन् ।
संसदमा महासेठविरुद्ध यति धेरै घृणायुक्त विरोध भइरहेको छ कि ‘शालिन’ मानिने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नै उनको मन्त्रालयगत बजेट पुस्तिका रोष्ट्रमबाटै च्यातिदिए । “जब, यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यो पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो च्यातेर यसरी हुर्याउने मन छ, तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छ”, उनले पुस्तिका च्यादै गर्दा भनेका थिए ।
उनी मात्रै होइन, नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले पनि मन्त्री महासेठले तयार पारेको बजेटमाथि चर्को विरोध गरेका छन् । देशभरका १५ सय आयोजनामध्ये महासेठले तीन सय आयोजना आफू र आफ्नी श्रीमती जुलीकुमारी महतोको क्षेत्रमा पारेको घिमिरेले बताएका छन् । उनले महासेठलाई लाज नभएकाे पात्रका रूपमा पनि चित्रण गरेका छन् ।
“भौतिक पूर्वाधार मन्त्री (उहाँ) इन्जिनियर हुनुहुन्थ्यो, मैले थाहा पाएअनुसार बडो सम्पन्न र समृद्ध मान्छे हुनुहुन्छ, बडो योग्य पनि हुनुहुन्छ, योग्य भएर नेकपा एमालेले उहाँलाई नेतृत्व गरेर सरकारमा उपप्रधानमन्त्री बनाएर पठाएको होला”, संसदमा सम्बोधनका क्रममा घिमिरेले भनेका छन्, “तर मैले यत्ति ठूलो निर्लज्ज मान्छे संसारमै देखेको छैन, १५ सय योजना पर्दा, तीन सय योजना उहाँको श्रीमान् र श्रीमतीको क्षेत्रमा मात्रै छ ।”
सांसद घिमिरेले भौतिक मन्त्री महासेठलाई लाज नभएर आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएको आरोप लगाएका छन् । उनले अगाडि भनेका छन्, “लाज हुन्छ, सरम हुन्छ, धर्म हुन्छ, म राष्ट्रको मन्त्री हुँ भन्ने गर्व हुन्छ मान्छेलाई, तर कतै पनि केही नभएको शून्यतामा बाँचेको मान्छेलाई उपप्रधानमन्त्री र सरकारको नेतृत्व गर्न पठाउने नेकपा एमालेलाई पनि मेरो हार्दिक बधाई छ ।”
विपक्षी दलहरु मात्रै होइन, सत्ता पक्षका माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, जनमत पार्टीलगायतबाट पनि महासेठले प्रस्तुत गरेको मन्त्रालयगत बजेटको तिव्र विरोध भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मन्त्रीले बजेट नै नबुझेको टिप्पणी गरेका छन् भने एकीकृत समाजवादीका प्रेम आलेले बजेट पुनर्लेखन गर्न माग गरेका छन् । महासेठलाई ‘समृद्धि नेपाल, सुखी नेपाली’को नारालाई हेर्न पनि आलेको आग्रह छ ।
एमालेभित्रैबाट चरम असन्तुष्टि
एमालेका सांसद रघुजी पन्त स्वयम्ले महासेठ देशको मन्त्री बन्न नसकेको आरोप लगाएका छन् । भौतिक योजना मन्त्रालयले प्रस्तुत गरेको बजेटले सिंगो देशलाई समेट्न नसकेको भन्दै पन्तले मन्त्री महासेठलाई सच्चिन आग्रह गरेका छन् ।
“म भौतिक योजना मन्त्रालयबारे धेरै टिप्पणी गर्न चाहन्नँ, मन्त्री एउटा निर्वाचन क्षेत्र वा जिल्लाको मात्रै हुँदैन, ऊ सिंगो देशको हुन्छ”, पन्तले बजेटमाथिको छलफलमा भाग लिँदै भनेका छन्, “तपाईं (रघुजी महासेठ) मन्त्री मात्रै होइन, विभिन्न समुदाय, क्षेत्र, जिल्लाको प्रतिनिधित्व गरेर आउनुभएको सांसद हुनुस् अथवा निर्वाचन लडेर आउनुभएको सांसद हुनुस् ।”
एमालेका सांसद तारा लामा तामाङले भौतिक योजना मन्त्रालयको बजेटले संघीयताकै धज्जी उडाएको टिप्पणी गरेका छन् । “अहिले जहाँ गए पनि संघीयताको विरोध भइरहेको देख्छु, सुशासन कमजोर भयो भनिरहिएको पाउँछु, सास्ती पाइराखेको देख्छु, यस्तो खाले बजेटले मान्छेलाई निराशा मात्रै पैदा गर्छ”, उनले भनेका छन्, “मन्त्रीको क्षेत्रमा केही योजना बढी पर्छ त्यहाँको जनताले आस गरेको हुन्छ तर यसको मतलब कुनै क्षेत्र निल गर्ने होइन ।”
हुन पनि महासेठले देशभरको कूल आयोजनामध्ये करिब २० प्रतिशत अर्थात् १५ सय आयोजनाको तीन सय आफ्नो चुनावी क्षेत्रमा मात्रै लगेका छन् । बाँकी ७६ वटा जिल्लामा १२ सय आयोजना परेको छ । १२ सय आयोजना पनि अधिकांश शीर्ष नेताहरुको जिल्ला वा निर्वाचन क्षेत्र केन्द्रीत बनेको छ ।
महासेठ र उनकी पत्नी जुलीकुमारीको निर्वाचन क्षेत्र धनुषाको निर्वाचन क्षेत्र नं. ३ र ४ मा मात्रै भौतिक तथा पूर्वाधार मन्त्रालयले ८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यता, ओलीको गृहजिल्ला झापामा ६ अर्ब ७० करोड गरिएको छ ।