काठमाडौं । जेठको अन्तिम कारोबार दिनसँगै घटेको नेप्सेमा गिरावट जारी छ । जेठ ३१ मा एकल अंकले घटेको नेप्सेमा असार लागेसँगै भने निरन्तरजसो दोहोरो अंकको गिरावट देखिएको छ ।
असार लागेसँगै चार कारोबार दिनमा मात्रै नेप्सेमा ४३.९७ अंकको गिरावट आएको छ ।
असारको तीन तीन कारोबार दिनमा नेप्सेमा दोहोरो अंकको गिरावट आयो भने बुधबार झिनो (२.२७ अंक)ले बृद्धि भएको थियो ।
आइतबार १७.०४ अंकले घटेको नेप्से मंगलबार पनि १८.७६ अंकले घट्यो । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) १०.४४ अंकले घट्दै नेप्से २०६८.३१ को बिन्दुमा झरेर बन्द बन्द भएको छ ।
असारको चार कारोबार दिनमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि तिव्र गिरावट आएको छ । जेठको अन्तिम कारोबार दिन छ अर्ब ३५ करोड माथिको कारोबार भएको नेप्सेमा त्यसयता कारोबार रकम चार अर्ब हाराहारीमै सीमित भएको छ ।
असार २ मा पाँच अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा असार ४ मा आउँदा चार अर्ब तीन करोडमात्रै कारोबार भयो । त्यसयता असार ५ मा तीन अर्ब ३६ करोडको करोबार हुँदा असार ६ मा तीन अर्ब ८४ करोडको कारोबार भयो ।
अहिले विशेषगरी शेयर बजारमा विद्याधर मल्लिक नेतृत्वको कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले तयार गरेको प्रतिवेदनको चर्चा चलिरहेको छ । जुन समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदनमा सेयर कारोबार गर्दा हुने नाफामा ३९ प्रतिशतसम्म कर लगाउने प्रस्ताव गरिएको छ । सँगै समितिले पूँजीगत लाभकरसमेत बढाउन सुझाव दिएको छ । समितिले एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिएको छ ।
जुन प्रस्तावको चर्चासँगै बजारमा निरन्तर निराशा देखिएको छ । यद्यपि, प्रतिवेदन कार्यान्वयन हुन्छ वा हुँदैन यकिन छैन । तथापि, यसको प्रभाव परिरहने सम्भावना कायमै छ ।