काठमाडौं । बिहीवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको सवालको जवाफ दिइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै चित्त दुखाइको गाँठो फुकाए । उनको चित्त दुखाइको कारण थियो, आफूले सम्बोधन गर्ने क्रममा संसद्मा रहेको शीर्ष नेता तथा सांसदहरूको न्यून उपस्थिति ।
बिहीवारको बैठकमा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै अनुपस्थित थिए । बैठकमा उपस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बीचमै उठेर हिँडेका थिए ।
शीर्ष नेता मात्र होइन, सांसदहरूको समेत उपस्थिति कम थियो । यसतर्फ संकेत गर्दै उनले प्रधानमन्त्रीले संसद्मा बोल्दा सकेसम्म सबै उपस्थित हुने परम्परा स्मरण गराए र प्रधानमन्त्रीको अवमूल्यन भएको दुखेसो पोखे ।
पछिल्लो समय सत्ता समीकरणमा अलि खटपट र विशेषगरी प्रचण्ड र ओलीको दूरी बढेको चर्चा चलिरहेको छ । माधव नेपालको असन्तुष्टि त पुरानै हो । यस्तो बेलामा उनीहरूकै अनुपस्थिति र त्यसप्रतिको प्रचण्डको असन्तुष्टिले समेत समीकरणभित्रको गन्जागोलको संकेत गरेको छ ।
संसद्मा प्रधानमन्त्रीसँगको सवाल जवाफमा ११ जना सांसदहरुले भाग लिएका थिए । सुरुमा संसद्मा उठेको प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण लगायतका विषयबारे स्पष्ट पारेपछि सांसद र प्रधानमन्त्रीबीच सवाल जवाफ भएको थियो । सवाल जवाफ तुलनात्मक रुपमा शालीन र अलि अलि व्यंग्यले भरिएको थियो ।
संसदलाई जवाफ नदिएर प्रधानमन्त्री भागेको भनेर विगतदेखि नै सांसदहरुले उठाउँदै आएको विषयप्रति प्रधानमन्त्री प्रचण्डले सुरुमै आपत्ति जनाएका थिए, र बैठकमा उपस्थित हुन नसक्नुको कारण बताएका थिए । विगतमा सांसदहरुले प्रस्तुत गरेको आक्रोशको तुलनामा बिहीवार भने शालीनता पूर्वक सवाल जवाफ भएको छ । सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्रीको प्रतिबद्धताअनुरूप बजेट नआएको भन्दै दोहोर्याएर सवाल जवाफ गरेका थिए ।
एमाले सांसद ठाकुर गैह्रेकै प्रश्नको जवाफ स्पष्ट नभएको भन्दै रास्वपा सांसद तोसिमा कार्कीले प्रश्न दोहोर्याएकी थिइन् । अलिकति व्यंग्यात्मक शैलीमा प्रस्तुत भएकी सांसद कार्कीले बजेट कनिका छरेझैँ भएको भन्दै प्रधानमन्त्रीसँग सल्लाह भएको थियो भनी प्रश्न गरेकी थिइन । एउटै विषय दोहोर्याएपछि प्रधानमन्त्रीले बजेट भनेजस्तो नभएको स्वीकारेका थिए ।
प्रधानमन्त्रीसँग भएको सवालजवाफमा सत्तारुढ दलकै भएपनि सांसदहरुले अलिअलि व्यंग्य मिश्रित प्रश्न गर्नु त स्वाभाविक होला । यसका बीच पनि सवाल जवाफ शालीन नै देखिन्थ्यो ।
तर प्रचण्डले बोलिरहँदा ओली र नेपाल अनुपस्थित हुनु र त्यसप्रति प्रचण्डले असन्तुष्टि जनाउनु स्वाभाविकै हो कि पछिल्लो समय चर्चा भएजस्तै प्रचण्ड ओलीबीच बढेको दुरीको प्रतिविम्ब हो ? राजनीतिक तहमा प्रश्न उब्जिएकाे छ ।