मानवसेवा फाउन्डेसनको आयोजनामा पशुपति क्षेत्रमा कोटीहोम ज्ञानमहायज्ञ हुने-Sutra News

मानवसेवा फाउन्डेसनको आयोजनामा पशुपति क्षेत्रमा कोटीहोम ज्ञानमहायज्ञ हुने

बिहिबार, ६ असार २०८१

बिहिबार, ६ असार २०८१

काठमाडाैं । करिब एक दशकदेखि नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको मानव सेवा फाउन्डेसनको अगुवाईमा झन्डै एक दर्जन जति संघ-संस्थाको समेत सहयोगमा पवित्र पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन एक गतेदेखि कोटिहोम महायज्ञ सञ्चालन हुने भएको छ ।



ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम तथा भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरिको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउन्डेसनले जनाएको छ ।

पवित्र पशुपति क्षेत्रको वनकाली हंसमण्डपमा हुने ऐतिहासिक श्री पशुपतिनाथ कोटिहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण ज्ञान महायज्ञ आगामी साउन १ देखि सुरु भएर साउन ३२ गते समाप्त हुनेछ । महायज्ञमा वाचन प्रविण पन्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ ।

एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्र सहित अनवरत रूपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार बेद पाठ, ११ हजार बढी बालिकाको कन्या पुजन, हजारौंको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तान्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउन्डेसनले जानकारी दिएको छ ।

मानवसेवा फाउन्डेसनले आयोजना गर्ने उक्त ज्ञान महायज्ञको सूत्र टिभीबाट दैनिक एक घन्टा प्रत्यक्ष प्रशारण समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट