काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पार्टी स्थापनाको दोस्रो वर्ष धुमधामसँग मनाउँदै छ ।
‘नो नट अगेन’को नारा दिएर पार्टी स्थापना भएको ६ महिनामा चौथो ठूलो संसदीय शक्तिमा स्थापित रास्वपा यतिबेला सत्ता गठबन्धनको प्रमुख हिस्सा हुँदै महत्त्वपूर्ण मन्त्रालयसहित संघीय सरकारमा छ ।
पार्टी स्थापनाको दुई वर्षमा रास्वपा दोस्रो पटक सत्ता यात्रामा छ । विं.सं. २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा २० सिट जितेको रास्वपाले गत वर्षको उप निर्वाचनबाट थप एक सिट जित्दै २१ सिटसहित चौथो ठूलो संसदीय शक्तिका रूपमा रहेको छ ।
पार्टी स्थापना भएर आम निर्वाचनमा सहभागी हुँदै गर्दा केपी बा, नानीका बा र देउवा बालाई विस्थापित गर्ने रणनीति बुन्दै ‘नो नट अगेन’को नारा चुनावमा होमिएको थियो । यतिबेला उनै केपी बा हर्ताकर्ता रहेर नानीका बा प्रधानमन्त्री रहेको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्रीमा आसिन छन् ।
दोस्रो पटक सत्ताको स्वाद चाखिरहेको रास्वपा चुनावमा ‘नो नट अगेन’ र सत्तामा ‘अगेन एण्ड अगेन’को रणनीति अख्तियार गरेको भन्दै पार्टी पंक्तिभित्रै आलोचना भइरहेको छ ।
पहिलो पटक नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट सांसद पदसमेत गुमाएका रास्वपा सभापति लामिछानेले समय क्रममा तिनै पद पुनः प्राप्त गरे । तर, सहकारी ठगी प्रकरणमा तत्कालीन गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँगै नाम मुछिएपछि उनीविरुद्ध छानबिन गर्न संसदीय समिति बनेको छ ।
सर्वोच्च अदालतमा उनलाई पदमुक्त गर्नु पर्ने माग गर्दै दायर यो रिटमा सुनुवाइ चलिरहेको छ । महानगरीय प्रहरी प्रभाग टेकुमा उनीविरुद्ध बुधबार मात्रै सहकारी ठगीसम्बन्धि अर्को जाहेरी दर्ता भएको छ ।
‘नो नट अगेन’को नाराले निर्वाचनमा अनपेक्षित सफलता हात पारेको रास्वपाले अघिल्लो उप निर्वाचनसम्म आफ्नो रापताप बाँकी रहे पनि २०८० वैशाखमा सम्पन्न इलाम २ को उप निर्वाचनमा आफ्नो पार्टीको र गृह मन्त्रालयसम्मको संयुक्त शक्ति परिचालन गर्दासमेत उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन सकेनन् ।
पार्टी स्थापनाको दुई वर्षमा दुई पटक सत्ताको स्वाद चाखे पनि पार्टीको मूल नेतृत्व सत्ताको खेलमा रुमल्लिँदा पार्टीको संगठन विस्तार र महाअधिवेशनको प्रक्रिया अस्तव्यस्त बन्न पुगेको छ । पार्टी स्थापनाको दुई वर्षसम्म रास्वपाका कुनै पनि पार्टी संरचनाले पूर्णता पाएका छैनन् । कर्णाली प्रदेशका १० र गण्डकी प्रदेशका दुई गरी १२ वटा जिल्लामा रास्वपाको जिल्ला कमिटी गठन हुन सकेका छैन ।
पार्टी स्थापनाको दोस्रो वर्षको अवसरमा यतिबेला पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहित विभिन्न दलका नेतासहित कुटनीतिक नियोगका प्रमुख, प्रतिनिधि र सर्वसाधारणलाई आमन्त्रण गर्दै धुमधामसँग पार्टी स्थापना दिवस मनाइँदै छ ।
गृहमन्त्री बनेको केही दिनमै पक्राउ गर्ने दाबी गरेका लामिछानेका पूर्वसहकर्मी जीबी राईदेखि ठूला भ्रष्टाचारका फाइल खोल्ने घोषणा सिमित बनेको छ । अरुलाई प्रश्न सोधेर जवाफदेहीताको पाठ पढाउने उनै रास्वपाका सभापति लामिछाने यतिबेला आफूले गृह मन्त्रालय सम्हालेको सय दिनको अवसरमा सञ्चारकर्मीको प्रश्नको सामना नगरी कार्यक्रम समापन गर्नु पर्ने निरीह अवस्थामा पुगेका थिए ।
रास्वपाले आफ्नो स्थापनाको दोस्रो दिवस धुमधामसँग मनाउँदै गर्दा आफ्नै पार्टी सभापतिको भविष्य के हुने ? भनेर संसदीय छानबिन समिति र सर्वोच्च अदालतले के आदेश देला ? भनेर कुर्न विवश छ ।
अरुलाई प्रश्न सोधेर नैतिकताको पाठ पढाउने रास्वपाको हैसियत आफैमाथि उठेका प्रश्नको जवाफ दिन नसक्ने अवस्थामा पुग्नु वैकल्पिक राजनीतिको वकालत गर्नेहरूका लागि लाज मर्दो अवस्था हो ।
सत्ता र शक्तिको आडमा नाङ्गै दौडिरहेका रास्वपाका नयाँ बादशाहलाई उनीहरू नाङ्गै भएको तथ्य कसले सुझाव देला ? वैकल्पिक राजनीतिको वकालत गर्दै ‘नो नट अगेन’को नारामा चुनाव जितेर पुरानै शक्तिको काँध चढेर सत्ता यात्रामा रहेको रास्वपाको दुई वर्षे यात्राले कुनै तात्विक फरक पार्न सकेको देखिँदैन ।