काठमाडौं । हरेक वर्ष फिल्म रिलिज हुन्छन्, जान्छन् । कतिले कमाउँछन् त कतिले गुमाउँछन् । पछिल्लो समय सफल हुनेमा अधिकांश हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइएका फिल्म छन्। सोहीअनुसार नेपालमा हास्य विधाका फिल्म दर्शकको रोजाइमा पर्ने गरेका छन्। कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकार अहिले मुख्य भूमिकामा छन्।
दर्शकहरुलाई अन्य फिल्म हेर्न विचार गर्नु आवश्यक पर्छ, तर हास्यव्यङ्ग्यलाई प्राथमिकता दिएका फिल्म हेर्ने धेरै विचार गर्न पर्दैन। त्यहीअनुसार हास्य विधाकै फिल्मको वर्चश्व देखिन्छ । अहिले हास्यविधालाई दर्शकले रुचाएको भन्न सकिने उदाहरण ‘कबड्डी ४ द फाइनल म्याच’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हुन्। यी बाहेक ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘झिङ्गेदाउ’ पनि हास्य विधामै रहेको फिल्म छन्। फरक फरक कथामा निर्माण भएका यी फिल्मको प्रमुख जनरा कमेडी नै थियो ।
हास्य विधामा आधारित यी फिल्मले घरेलु बजारबाट नै मुनाफा कमाएका छन्। अब यहाँ कुरा गर्न खोजिएको पछिल्लो समय कमेडी फिल्म भन्दै सार्वजनिक गरिएका दुई फिल्मका पोस्टरमाथि चर्चा गर्न लागिएको हो ।
करिब महिना दिनअघि ‘भइरल गोर्खे’ निर्माण पक्षले पनि अभिनेता सौगात मल्ल दुई वटा भैँसीमा चढेको तस्बिर सार्वजनिक गरेको थियो । यो फिल्मले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसँगै भाइरल हुन जे पनि गर्ने बढेको खराब प्रवृत्तिलाई देखाउने बताइएको छ ।
यसैगरी सिमोस सुनुवारको निर्देशनमा सौगात मल्लकै मुख्य भूमिका रहने अर्को फिल्म ‘जन्ते बाख्रो’को पनि छायांकन अगावै थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा बाख्रालाई चस्मा लगाइदिएको र छाता ओडाइदिएको देख्न सकिन्छ ।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भनिन्छ । फिल्मको कथावस्तु यसकै वरिपरि घुम्ने बताइएको छ । यो फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ ।
यसरी हेर्दा ‘भइरल गोर्खे’ र ‘जन्ते बाख्रो’को पोस्टरले फिल्म कमेडी बेसमा रहने संकेत गरिसकेको छ । तर, पछिल्लो समय कमेडी फिल्मले नै राम्रो ब्यापार गरेका छन्, कमेडी फिल्मले नै चलिरहेका छन् भनेर देखासिकी गरेका फिल्मले लगानीको सानो अंश पनि उठाउन नसकेका धेरै उदाहरण छन् ।
अब यी फिल्म बन्ने नै भएकाले अहिलेनै बक्सअफिसमा के कस्तो व्यापार गर्लान् भनेर आवस्यक छैन, त्यो त रिलिजपछिको समयले नै बताउनेछ । तर, कमेडीका नाममा साह्रै नै सस्तो फिल्म त बन्दै छैनन् ? भन्ने प्रश्न गराएकाे छ । मेकरभन्दा दर्शक बुझ्ने भइसकेको समयमा कुन स्तरको कमेडी पस्किने सुरुमै निर्माण पक्षले सचेत बन्नु नै बुद्धिमानी हुने देखिन्छ ।