विपद् व्यवस्थापनमा तयार भएर बस्न रक्षामन्त्रीले दिए नेपाली सेनालाई निर्देशन-Sutra News

विपद् व्यवस्थापनमा तयार भएर बस्न रक्षामन्त्रीले दिए नेपाली सेनालाई निर्देशन

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

काठमाडौं । रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले विपद् व्यवस्थापनको लागि तयार भएर बस्न नेपाली सेनालाई निर्देशन दिएका छन् । मन्त्री उप्रेतीले नेपाली सेनाअन्तर्गतको उपत्यका पृतना हेडक्वार्टरको वस्तुस्थितिको अवलोकन तथा निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् ।



हेडक्वार्टरको वस्तुस्थितिको अवलोकनपछि उनले मनसुनजन्य विपद र बाढी पहिरोको जोखिम यस वर्ष अलि ज्यादा हुने भएकाले अनुगमनलाई जोड दिएको बताएका छन् । अनुगमनबाट पत्ता लागेको नेपाली सेनाको अभाव र विपद् व्यवस्थापनका आवश्यकताहरु रक्षा मन्त्रालयबाट जतिसक्दो चाँडो पूर्ति गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

अवलोकनपछि उनले नेपाली सेनालाई सम्बोधन गर्दै नेपाली जनताको एक मात्र विश्वसनिय र भरोसाको केन्द्र नेपाली सैनिक रहेको बताएका छन् । पहाडमा सुत्केरी हुँदा होस् या तराईमा सर्पले डस्दा , हावाहुरी, विमान दुर्घटना लगायतका दुर्घटनामा नेपाली सैनिकलाई नै जनताले याद गर्ने गरेको बताए । सिमित श्रोत साधनका बाबजुत नेपाली सेनाले जनताको विश्वास जीतेको उनले बताएका छन् ।

रक्षा मन्त्रालय विभिन्न गणमा भएको जमिनको अभावका विषयमा फाइल अघि बढाउने समेत प्रतिवद्धता जनाए । उनले भने, ‘नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारीहरु उच्च दक्षताका साथ सम्पन्न गर्नुका साथै नेपाली जनताको सुख दुखको सारथी बन्दै आएको कारण पनि सेना प्रति जनताको उच्च विश्वास र सम्मान रहेको छ । यसलाई पृतना हेडक्वार्टरबाट निरन्तर प्रयत्नशिल रहँदै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्र र नेपाली जनताको पहिचान स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको गौरवशाली संस्थाको सदस्य भइ राष्ट्र सेवामा खटिन पाउनु आफुमा प्रतिष्ठित र गौरब विषय रहेको उनले बताएका छन् । यसलाई कुनै मुल्य र तलबले तोक्न नसक्ने उनको भनाइ छ ।

विश्वको शान्ति स्थापना युएनमा नेपालले पहिलो हाँसिल गरेकामा उनले खुसी व्यक्त गरेका छन् । महिला सेनाको प्रदर्शनदेखि संख्या र भुमिकाका आधारमा नेपाली सेना पहिलो नम्बरमा रहेको बताउँदै त्यस्तो संस्थाको सदस्य हुन पाउनु गर्वको कुरा रहेको उनले बताएका छन् ।

संस्थानका कर्मचारीहरु वषौँदेखि तलब खान नपाएर क्वाटरमा तलब कुरेर बसिरहेको तर संस्थानहरु खण्डहर हुँदै गएको उनले बताए । ‘यस्तो अवस्थामा नेपाली सेना विश्व मान चित्रमा शान्ति स्थापना गर्न पहिलो नम्बरमा हुनुभन्दा गौरबको कुरा अरु केही हुन सक्दैन,’ मन्त्री उप्रेतीले भने ।

जसको प्रभाव राम्रो हुन्छ उसमा आक्रमण पनि हुने बताउँदै मनोबल नगुमाई उच्च मनोबलका साथ अघि बढे भविष्य सुखद् हुने मन्त्री उप्रेतीले बताएका छन् । नेपाली सेनाले देशलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भुमिका खेल्न सकेमा नेपाली सेनाले अर्को इतिहास लेख्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट