६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो-Sutra News

६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

काठमाडौं । आईएमई ग्रुपको कम्पनी हाइड्रो सपोर्ट प्रा.लि.मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।



सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नबिल बैंक लिमिटेडले गरेको छ भने अन्य सहभागी बैंकहरूमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, र प्रभु बैंक रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आईएमई ग्रुप र सर्वसाधारणको लगानी रहने छ ।

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कूल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले एक अर्ब रूपैयाँ रहने छ ।
मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट एक अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाटबाट एक अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट