काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा आज सुन तोलाकै २७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख ४१ हजार तीन सय रुपैयाँ छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा तोलाकै ५० रुपैयाँले घट्दै चाँदी प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ कायम भएको छ । सुनको मूल्यमा उतारचढाव हुँदा चाँदीको मूल्यमा पनि उतारचढाव हुने गरेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।