काठमाडौं । फिल्म ‘जेरीः अन टप’मा नायिका जसिता गुरुङको प्रवेश भएको छ । सुयोग गुरुङको निर्देशनमा तयार हुन् लागेको यो फिल्ममा नायिका जसिताको प्रवेशसङै कलाकारको लाइनअपमा नयाँ ट्विस्ट आएको हो ।
आगामी साउनको १ गतेबाट छायांकनमा जान लागेको यो फिल्मको लागि यसअघि नायक अनमोल केसी, नायिका आना शर्मा र नायिका आँचल शर्मा फाइनल भएका छन् ।
केही दिन अघिदेखि वर्कशप समेत सुरु फिल्मका लागि शनिबार मात्रै नायिका गुरुङ फाइनल भएकी हुन् । यता निर्माण पक्षले आनाको स्थानमा जसितालाई फिल्ममा भित्र्याएको स्रोतको भनाइ छ ।
शनिबार अनमोल आँचल र आनको फोटोसुट गराउने समय तय भएको थियो । जसकालागि विहानैबाट अनमो र आँचल उपस्थित भए तर आना उपस्थित भइनन् । फोटो सुटमा बोलाउँदा नआएको भन्दै निर्माण पक्षले आनालाई फिल्मबाटै हटाएको स्रोतको बताउँछ । ।
स्रोत भन्छ, ‘जेरीः अन टपबाट नायिका आना निकालिएकी हुन् । फिल्मका निर्माता सरोज न्यौपानेले फोटोसुटका लागि बारम्बार फोन गरेका थिए, फोटोसुटमै नआएपिछ फिल्मबाट हटाइएकी हुन्, त्यसपछि निर्माण पक्षले फिल्मका लागि जसितासँग हिजो मात्रै कुरा गरेर हिजै फाइनल गरेको हो, अब यो चलचित्रमा अनमोल केसी र आँचल शर्मासँगै जसिता हुनेछिन् ।’
सूत्र न्युजले यस विषयमा नायिका आनासँग कुरा बुझ्न खोज्दा उनको फोन रीसिव भएन ।
फिल्म ‘जेरीः अन टप’लाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । उनले यो फिल्ममा दुबै नायिका लिड भूमिकामा रहेको र दुवैको भूमिका शक्तिशाली रहेको बताउँदै यसपटक दर्शकले फिल्म हेर्दा थुप्रै कुराहरू पाउनुहुने उल्लेख गरेका छन् ।
काठमाडौं, मुस्ताङ र लुक्लामा छायांकन गरिने यो फिल्मको अहिले प्रि-प्रोडक्शनको काम धमाधम चलिरहेको छ ।
दीपक भण्डारीको पनि लगानी रहने फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । त्यस्तै, नायिका जसिता गुरुङले ‘फर्की फर्की’मा नायक अनमोल केसीसँग सहकार्य गरेकी थिइन् ।