काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित संलग्नहरुमाथि विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । अख्तियार उच्च स्रोतका अनुसार शुक्रबार बसेको आयोगको बैठकले मुद्दा चलाउने निर्णय गरेको हो ।
स्रोतका अनुसार आजै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।
स्रोतले बताएअनुसार मुख्यसचिव डा. अर्यालसहित उक्त प्रकरणमा मुछिएका तत्कालिन मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत, तत्कालिन प्राधिकरण प्रमुख पुरुषोत्तम खनाललगायतविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।
यद्यपि, आयोगले सबै विषयलाई निकै गोप्य राखेको छ ।
“उहाँहरुलगायतमाथिको अनुसन्धान करिब टुंगिएको अवस्था हो, यसलाई मुद्दा प्रक्रियामा लैजाने तयारी भएको अवस्था हो, तर संवेदनशील विषय भएको कारण सबै कुरा अति गोप्य राखिएको छ”, अख्तियार उच्च स्रोतले भन्यो, “विशेषमा मुद्दा दायर हुनासाथ मात्रै विवरण बाहिरिन्छ ।”
टेरामक्स खरिदको निर्णय प्रक्रियामा तत्कालिन सञ्चार सचिवहरु डा. बैकुण्ठ अर्याल, विनोद प्रकाश सिंह, हरि बस्याललगायत मुछिएका छन् भने प्राधिकरणको नेतृत्वको रुपमा दिगम्बर झा र पुरुषोत्तम खनाल मुछिएका छन् । पहिलो निर्णय गर्दा मोहन बस्नेत सञ्चारमन्त्रीको जिम्मेवारीमा थिए भने पछि ज्ञानेन्द्रबहादुर कार्की जिम्मेवारीमा आएका थिए । दुवैले खरिद प्रक्रियालाई अगाडि बढाउन मन्त्रीको रुपमा सहजीकरण गरेका थिए ।