काठमाडौं । संसदमा फेरि एक पटक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आक्रामक शैलीमा प्रस्तुत भएको छ । कांग्रेसले सहकारी प्रकरणबारे लामिछानेको अभिव्यक्ति र केही निर्णयलाई लिएर प्रश्न उठाएको छ ।
सहकारी प्रकरणका फरार अभिव्युक्त जिबी राईको लोकेशन पत्ता लागेको भन्ने लामिछानेको अभिव्यक्ति राईलाई नै भगाउन उद्धत रहेको कांग्रेसको आरोप छ । आइतबार बसेको संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गोप्य सूचना सार्वजनिक गर्ने तर, पक्राउ नगर्ने शैलीमा नियत देखिएको बताए ।
“संसारलाई थाहा छ, गोरखा मिडियाका तत्कालीन दुई मालिकमध्ये एक फरार छन्, अर्को गृहमन्त्री हुनुहुन्छ, सहकारी ठगीमा फरार व्यावसायिक साथीलाई सहकारी ठगीमा रहेकालाई गृहमन्त्रीले पक्राउ गर्नुपर्नेछ”, संसद बैठकमा बोल्दै शर्माले भने, “लोकेशन पत्ता लाग्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटोकटीपन हो । कि भगाउने नियत हो ?”
शर्माले देशलाई जिबीको लोकेशन चाहिएको होइन, जिबी राई नै चाहिएको बताए। “जीबी राईको लोकेशन चाहिएको होइन, देशलाई जीबी राई नै चाहिएको हो, लोकेसनमा गेट बनाएर कार्पेट ओछ्याएर दुई पक्षीय वार्ता हुने हो ?”, शर्माले प्रश्न गरेका छन्, “लोकेशन पत्ता लागेको ४ दिन भयो, लोकेशन पत्ता लागेपछि मलेसियाको सरकारसँग समन्वय गर्न चार दिन किन लाग्छ ?”
गृहमन्त्री लामिछानेले आफूलाई जोगाउन अनेकन गरिरहेको शर्माको आरोप छ । कास्कीको सुर्यदर्शन सहकारीको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सूर्यबहादुर मगरलाई सरुवा गरिएको भन्दै शर्माले गृहमन्त्री लामिछाने के गर्न लागेका छन् भन्ने स्पष्ट भएको बताए ।
“गृहमन्त्रीजी हिजो मालिक रहेको सुर्यदर्शन सहकारी त्यही कास्कीमा छ, जसउपर छानबिन चलिरहेको छ, सूर्यबहादुर मगर त्यही छानबिन गर्ने एउटा इन्स्पेक्टर थिए तर, मगरलाई समय नपुगीकनै हटाइयो, उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाएर महोत्तरी पठाइयो”, शर्माले भनेका छन्, “यही रोस्टममा उभिएर प्रहरी इन्स्पेक्टर चलाउँदैनौं भन्नुहुन्थ्यो यत्तिको झुट बोल्न गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने ?”