काठमाडौं । असार लागेसँगै नेप्से परिसूचक निरन्तरजसो ओरालोमा छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सोही ट्रेण्डले निरन्तरता पायो ।
यद्यपि, आइतबार नेप्सेमा झिनो अंकले मात्रै गिरावट आयो । आइतबार ५.३७ अंकले घट्दै नेप्से २०६२.९४ को बिन्दुमा अडिएको छ ।
आइतबार नेप्सेका १३ उपसमूहमध्ये तीन उपसमूहको मात्रै परिसूचक बढ्यो । समग्रमा राताम्मे भएको नेप्सेमा फाइनान्स उपसमूहको परिसूचकमा भने उत्साहपूर्ण बृद्धि (५.४९ प्रतिशत) भयो । जसले नेप्सेमा ठूलो अंकको पहिरो जान पाएन ।
यस दिन कारोबारमा आएका २४७ कम्पनीमध्ये ७८ कम्पनीको मूल्य बढ्यो । बढेकामध्ये १५ कम्पनी फाइनान्स उपसमूहका छन् ।
नेप्से घट्दा पनि यस दिन पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेबलमा बृद्धि भएको छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैयूँखोला लघुवित्त र नेपाल फाइनान्स लिमिटेडको सकारात्मक सर्किट तहमा बृद्धि भएको हो ।
सँगै, नेप्से घटेपनि यस दिन कारोबार रकममा सुधार आएको छ । ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा यस दिन कारोबार रकम चार अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको भएको छ ।