काठमाडौंका नदीमा बालेनको सफाइ अभियान, कसरी हुँदैछ काम ?-Sutra News

काठमाडौंका नदीमा बालेनको सफाइ अभियान, कसरी हुँदैछ काम ?

आइतबार, ९ असार २०८१

आइतबार, ९ असार २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले यहाँका नदीहरूलाई सफा बनाउन सफाइ अभियानलाई तिव्रता दिएको छ । नदी किनारालाई व्यवस्थित बनाउँदै सफाइ अभियान चलाएको महानगरले नदीमै पसेर सफाइ अभियान पनि चलाउन सुरु गरेको छ ।



गत फागुन २० गतेदेखि निरन्तर नदीभित्रै पसेर सफाइ अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ । महानगरका प्रवत्ता नविन मानन्धरका अनुसार करिब तीन सय नयाँ कर्मचारी भर्ना गरी सरसफाइ अभियान चलाइएको छ ।

“महानगरको नेतृत्व जसरी पनि यहाँका नदीनाला, सम्पदा, पाटी पौवालगायतलाई पुरानै अवस्थामा फर्काउनुपर्छ भनेर लागेको अवस्था हो, अहिले झण्डै तीन सय नयाँ कर्मचारी भर्ना गरी अभियान चलाइएको छ”, प्रवत्ता मानन्धरले भनेका छन्, “अहिले केही नदीनालाबाट अभियान सुरु भएको छ, यो निरन्तर जारी रहन्छ ।”

हालसम्म महानगरले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको उनले जानकारी दिए । उनका अनुसार अहिले महानगरको सफाइ समूहले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेको छ ।

“गत सातादेखि नै इच्छुमती सफाइ अभियान थालिएको थियो, जसको आधाजसो काम सकिसकेको छ”, मानन्धरले भनेका छन्, “अब केही दिनमै उक्त काम सकिन्छ, त्यसपछि स्वयम्भू क्षेत्रमा सरसफाइको काम सुरु हुनेछ ।”

नदी सफाइ गर्न महानगरले कर्मचारीसँगसँगै प्रविधिलाई पनि प्रयोगमा ल्याएको छ । विभिन्न खालका प्रविधिको प्रयोग गरी नदीका फोहोर निकालिएको उनले जनाए ।

यद्यपि, काम निकै चुनौतिपूर्ण

महानगरले नदी सफाइ अभियान चलाइरहँदा अहिले नै केही नदीहरू हेर्न लायक भएका छन् । ति नदीहरूबाट फोहोर मात्रै हराएको छैन, नाकै थुनेर हिँड्नुपर्ने परिस्थिति पनि बन्द भएको छ ।

यद्यपि, नदीहरूमा पानीभन्दा ढल बढी बग्ने भएका कारण सफाइ अभियान चल्दै गर्दा फेरि उस्तै हुने चुनौति पनि देखिन्छ । प्रवक्ता मानन्धरका अनुसार ढललाई व्यवस्थित बनाउनका लागि पनि महानगरले योजनाबद्ध कार्यक्रम सुरु गरेको छ । अन्य सरोकारवालासँग पनि समन्वय गरी कार्यक्रम चलाइएको उनले जनाए ।

“नदीनालामा सबैभन्दा ठूलो समस्या ढलको देखियो, जुन महानगरभित्रको भन्दा माथितिरको समस्या बढी देखिन्छ”, उनले भनेका छन्, “यसमा बागमती सभ्यतासहित विभिन्न निकायसँग समन्वय गरी काम गरिरहेका छौं, यो समाधान नगरी दिगो समाधान हुँदैन भन्ने बुझाइसहित नै काम भइरहेको छ ।”

काठमाडौंमा बग्ने नदीलाई सफा बनाउन वि.सं. २०७० जेठ ५ गतेदेखि ठूलो खर्च र तामझामका साथ बागमती सफाइ अभियान चलिरहेको छ । तर, एक दशकमा पनि अभियानले अपेक्षित नतिजा दिन सकेको छैन ।

अभियानले बागमती नदीसँगै अन्य सहायक नदी र चक्रपथ सफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, अभियानको काम आशातित नभइरहँदा काठमाडौं महानगरपालिकाको तर्फबाट सुरु भएको सफाइ अभियानले थप टेवा पुग्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट