भारतकाे तमिलनाडुमा विषाक्त मदिरा सेवन गर्दा ५३ जनाले ज्यान गुमाए-Sutra News

भारतकाे तमिलनाडुमा विषाक्त मदिरा सेवन गर्दा ५३ जनाले ज्यान गुमाए

आइतबार, ९ असार २०८१

आइतबार, ९ असार २०८१

काठमाडाैं । भारतकाे तमिलनाडुमा विषाक्त मदिराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार मंगलबार मदिरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिकाे अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हाे ।



रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो ।

स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको जनाइएकाे छ ।

भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसहरू मर्छन्, तर यो विषाक्तता हालका वर्षहरूमा थप भयानक दखिएको छ । रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ मूल्य पर्ने रक्सी किन्ने र काम गर्नु अघि पिउँने र यसैको नशामा काम गर्ने गरेको इन्डियन एक्सप्रेस पत्रिकाले आइतबार उल्लेख गरेको छ ।

रक्सीको सेवनपछि कतिपयले आँखा देख्न नसकेको बताएका थिए भने कतिपय बेहोस भई सडकमै ढलेका र उनीहरूमध्ये केहीको तत्काल मृत्यु भएको थियो ।

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट