काठमाडौं । सरकारका बहालवाला मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तशुल्क स्टिकर खरिद अनियमितता प्रकरणमा आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् ।
अर्यालसहित अख्तियारले अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्माविरूद्ध मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रति थान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गर्दा आयोगले पनि अनियमितता भएको निष्कर्ष निकाल्दै मुद्दा प्रक्रिया अघि बढाएको हो ।
मुद्दा दर्ता भएसँगै मुख्यसचिव डा. अर्याल निलम्बनमा परेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वत: निलम्बनमा परेका हुन्।
मुख्यसचिव डा. अर्याल टेरामक्स प्रकरणमा पनि मुछिएका छन् । अख्तियारले टेरामक्समाथि पनि अनुसन्धान गरिरहेको छ । जसविरुद्ध केही दिनमै मुद्दा दायर गर्ने तयारी छ ।
टेरामक्स प्रकरणमा अर्यालसहित तत्कालिन सञ्चार मन्त्रीहरु मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की पनि मुछिएका छन् तत्कालिन दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल पनि मुछिएका छन् । यस्तै, तत्कालिन सञ्चार सचिव विनोद प्रकाश सिंह, हरि बस्याललगायत पनि उक्त प्रकरणमा मुछिएका छन् ।