जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना अस्पताल भर्ना-Sutra News

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना अस्पताल भर्ना

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ ।



स्थानीय बल बहादुर प्रजा (५५)ले जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेका थिए ।

मकवानपुर प्रहरीका अनुसार, बल बहादुर प्रजाको अवस्था गम्भीर थियो र उनलाई उपचारका लागि चितवन लगिएको थियो । तर, भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका उनको मृत्यु भएको डाक्टरले घोषणा गरे ।

अन्य बिरामीहरूमा प्रजाकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु प्रजा, ८ वर्षीया छोरी सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा रहेका छन् । उनीहरू सबैको अवस्था मध्यम रहेको र चितवनमा उपचार भइरहेको बताइएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक बृज किशोर साह गोढको नेतृत्वमा प्रहरी टोली घटना स्थलतर्फ खटिएको थियो । घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब ७ घण्टा पैदल दूरीमा रहेको छ ।

यस घटनाले जंगली च्याउ खानुको जोखिमबारे सचेत गराएको छ । स्थानीय अधिकारीहरूले जनतालाई अपरिचित जङ्गली च्याउहरू नखान सावधान गराएका छन् । प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट