‘बलिदान’मा साउथका द्वन्द्व निर्देशक र छायाकार-Sutra News

‘बलिदान’मा साउथका द्वन्द्व निर्देशक र छायाकार

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । छायांकनको तयारीमा रहेको फिल्म ‘बलिदान’ लागि इटहरीमा रहेको बिएमसी छायांकन स्टुडियोमा सेट तयार भइरहेको छ। करिब ६० प्रतिशत स्टुडियोमा नै छायांक हुने यस फिल्मका लागि निर्देशक सन्तोष सेनले साउथका द्वन्द्व निर्देशक र छायाकार भित्र्याएका छन्।



निर्माण पक्षले  महँगो पारिश्रमिकमा द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषिलाई भित्र्याएको हो। उनीहरुसहित करिब ५० जनाको प्राविधिक टिमले ‘बलिदान’मा काम गराइने भएको छ ।

बलिदान’मा काम गर्न तयार भएका द्वन्द्व निर्देशक सामले यस अघि दक्षिण भारतीय अभिनेता राणा दगुबत्तीको ‘हात्ती मेरे साथी’, चियान विक्रमको ‘थङ्गलम’ लगायतका फिल्ममा काम गरिसकेका छन्। ऋषि गत हप्ता प्रदर्शन भएको नेपाली फिल्म ‘बाटो: रोड टु डेथ’का छायाकार हुन्। हाल नेपालमा उनको छायांकनको तारिफ भइरहेको छ।

गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण, थिचोमिचो र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने कथामा आधारित रहने छ। यस फिल्मलाई निर्देशक सेनले फिल्मको कथालाई ‘महाकथा’ भन्दै यसको लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताउँछन्।

उनी महिनौँ देखि कहिले छायांकन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा त कहिले दक्षिण भारतका प्राविधिकहरूसँग छलफल गरिरहेका छन्।

यसका साथै छायांकनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने सेनले बताए। उनले भने, ‘हामीले बलिदानलाई उच्चस्तरीय नेपाली फिल्म बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ, यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ, यो एक सामान्य फिल्म मात्र नभएर नेपाली फिल्म क्षेत्रका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् फिल्मको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ।’

बलिदानको छायांकनको लागि इटहरीसँगै विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको सह-निर्माता प्रेम पुरीले बताए।

‘बलिदान’को प्रमुख भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन्। समीरसँगै फिल्ममा अभिनेता त्रय सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहनेछ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट