काठमाडौं । चलचित्र बिकास बोर्ड फिल्म क्षेत्रको विकास र प्रवर्द्धनका लागि जिम्मेवार सरकारी निकाय हो । यो बोर्ड सूचना तथा सञ्चार मन्त्रालयको मातहतमा हुनेछ । फिल्मको विषयमा राज्यको स्पष्ट अवधारणा के हो ? भन्ने कुरा विकास बोर्डले स्थापित गरिदिने हो ।
नेपाली फिल्म क्षेत्रलाई राज्यसँग जोड्ने एक मात्र संस्था रहेको चलचित्र विकास बोर्डमा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय भई यो क्षेत्रलाई बुझेका व्यक्ति बोर्डमा पुग्ने नेतृत्व गरेका छन् । तर, फिल्म क्षेत्रका लागि कहिले काहीँ बोर्ड अविभावकविहीन जस्तो हुने गरेको छ ।
सामान्यतया जुन पार्टीको सरकार बन्छ, त्यही पार्टीका कार्यकर्ता चलचित्र विकास बोर्डको अध्यक्ष बन्दै आएका छन् । तर, पार्टीका खाँटी कार्यकर्ता चलचित्र बनाउने र खेल्ने नभएकाले अरु कलाकार पार्टीको झण्डा ओढेर राजनीतिक नियुक्ति लिँदै बोर्ड अध्यक्ष बन्ने गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि राजनीतिक दलका नेतालाई पैसा खुवाउनु पर्ने गम्भीर आरोप लगाएका छन् ।
आइतबार फिल्म ‘दान्भी’को विशेष शोमा हेर्न पुगेका लिङ्देनले नेपाली फिल्म क्षेत्रलाई राज्यले संरक्षण गर्नु पर्ने तर्क गरे । फिल्म क्षेत्र एक्लैले नसक्ने भन्दै उनले राज्यले पनि यो क्षेत्रलाई संरक्षण गर्न आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष लिङ्देनले भने, ‘यति धेरै लगानी गरेर फिल्महरू निर्माण भएका छन्, के हाम्रा दर्शक र हाम्रा भूगोलले मात्र पुग्छ त ?, यसमा राज्यले संरक्षण गर्नु पर्छ, तर चलचित्र विकास बोर्डका अध्यक्ष पैसामा बिक्री हुन्छन्, किनबेचमा हिँड्छन्, अनि बन्छ ?, त्यस कारण नेताहरूलाई ठिक ठाउँमा ल्याउनु पर्छ ।’
अध्यक्ष लिङ्देनले ‘दान्भी’ ले उठाएको कथावस्तु निकै राम्रो भएको भन्दै चर्चा गरे । यस क्रममा उनले नायिका पूजा शर्माको कामलाई पनि प्रशंसा गरे ।
यस्तै उनले देशमा जुन प्रकारकाे भ्रष्टाचार, अनियमिता र तस्करीको अन्त्य हुनु पर्छ भन्ने विषयवस्तु फिल्ममा रहेको उनको भनाइ थियो ।