काठमाडौं । गृह मन्त्रालयको नेतृत्व सम्हालेका रवि लामिछानले प्रहरी नायब महानिरीक्षक (एआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) नियुक्तिका लागि सिफारिस गरेको छ ।
५६ वर्षे उमेर हद पार गर्न लागेका एआईजी उमेशराज जोशीले अवकाश पाउनुअघि दुई दिनका लागि पोखरेललाई एआईजी बनाउन गृहमन्त्री लामिछाने लबिङ गरेका हुन् ।
गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआईजी बनाउने निर्णय गरेको हो । एआईजी जोशीले असार २० गते राति अवकाश पाउँदै छन् । त्यही रातबाट एआईजी हुने गरी पोखरेल सिफारिस भएका हुन्।
उनले २२ गते रातिदेखि अवकाश पाउने छन् । दुई रातका लागि राज्यलाई आर्थिक भार पर्ने गरी पोखरेललाई जबरजस्ती एआईजी बनाउन गृहमन्त्री लामिछानेले दबाब दिएका हुन् ।
यसअघि वसन्त लामालाई ३४ घण्टाका लागि एआईजी बनाएको इतिहास छ । त्यही विकृतिको निरन्तरता स्वरुप निकटलाई विशिष्ट श्रेणी पदमा पुर्याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ ।
स्रोतका अनुसार लामिछानेले आफ्नो वकिल सुशील पन्तका भाञ्जा पर्ने पोखरेललाई दुई रातका लागि बढुवा गर्न दबाब दिएका हुन् । पोखरेललाई एआईजी बनाउन सल्लाह उनका अघोषित सल्लाहकार पूर्वएआईजी दिवेश लोहनीले दिएको बताइएको छ ।
लोहनी उनै अधिकारी हुन्, जसले लामालाई ३४ घण्टा एआईजी बनाउँदा विरोध गरेका थिए । पोखरेल लोहनीका साँढु भाइ हुन् ।
दुई दिन बन्ने एआईजीले प्रहरी कार्य सम्पादनमा कुनै भूमिकामा सहयोग गर्न नसक्ने हुनाले पोखरेललाई विशुद्ध पदमा पुर्याउनका लागिएको हो ।
प्रहरी तथा निजामती प्रशासनमा विशिष्ठ श्रेणीको मूल्यांकन उच्च हुन्छ । अवकाशपछिको सेवा सुविधा तथा पदीय हैसियत बढ्ने भएकाले प्रहरीमा विशिष्ट श्रेणी पुग्न दबाब दिँदै आएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत पोखरेल प्रहरी कार्य सम्पादनमा औषत मानिन्छन् ।
बढुवा समितिमा सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक वसन्त कुँवर सोमबार अमेरिका जाँदै छन् । आफू अमेरिका जानुअघि उनले पोखरेललाई एआईजी सिफारिसमा सहमति दिएका हुन् ।
कुँवर र गृहमन्त्री लामिछानेको सम्बन्ध हार्दिक छैन। कुँवरलाई नै हटाउने योजनामा लामिछाने लागिपरेका छन्।