काठमाडौं । “हाम्रो इतिहास, मुद्दा र जादूयी नम्बरका कारण हामीलाई सरकारबाट हटाउन सजिलो छैन, थोरै भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन, जादू नम्बर छ ।”
केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिकरुपमा दिएको यो अभिव्यक्ति अहिले चर्चामा छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति किन दिए ? यसभित्रको अन्तर्य के हो ?
माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा भने प्रधानमन्त्री प्रचण्डले वास्तविकता बोलेको बताउँछन् । समीकरणभित्र जुन अवस्था हुन्छ, त्यसको प्रतिक्रियात्मक शैलीमा पनि यस्ता अभिव्यक्ति आएको उनले बताए ।
“माओवादी केन्द्रलाई कसैले दया, माया गरेर सत्ताको नेतृत्व दिएको होइन, गणीतको अनुकुलताले हामीले नेतृत्व पाएको हो”, शर्माले भनेका छन्, “सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने भाष्य खडा गर्दै जसरी अन्योलताको अवस्था बनाउन खोजियो, सायद प्रधानमन्त्रीको अभिव्यक्ति त्यसलाई चिर्ने ढंगले आएको हुनुपर्छ ।”
अहिलेको गणीतले माओवादी बाहेक कसैको नेतृत्वमा सरकार बन्ने अवस्था नभएको पनि शर्माको दाबी छ । “यो वास्तविकता स्वीकार गर्दा हुन्छ, न अहिले एमाले–कांग्रेस मिल्ने अवस्था छ न त अरु मिलेर सरकार बन्छ, यो अवस्थामा माओवादी नेतृत्व निर्विकल्प हो”, शर्माले अघि भनेका छन् ।
हुन पनि डेढ वर्षदेखि जम्मा ३२ सिट भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा छन् । तीन÷तीन पटक सत्ता समीकरण हेरफेर भइरहँदा पनि नेतृत्वमा रहेका प्रचण्डलाई कुनै संकट आइपरेको छैन ।
२०७९ पुस १० मा एमालेसहितको समीकरणबाट सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्री प्रचण्डले पछि राष्ट्रपतिको निर्वाचनसँगै समीकरण हेरफेर गरे । एमालेसँग सहकार्य तोडेर प्रचण्डले कांग्रेससहितको समीकरण ब्यूँताएका थिए ।
यद्यपि, कांग्रेससहितको समीकरण पनि लामो समय टिकेन । गत फागुन २१ मा एमाले–माओवादीबीच भएको सहमतिसँगै कांग्रेस सरकारबाट बाहिरिएको थियो ।
अहिले एमाले–माओवादी खटपट हुँदा कांग्रेसले फेरि सरकारमा फर्किने अवस्था हुन लागेको भन्ने अभिव्यक्ति दिन थालेको छ । संसदमा एमालेले बजेटमाथि असहमति जनाइरहँदा कांग्रेसले सत्तामा फर्किनुपर्ने अवस्था बनेको बताएको थियो ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति पनि सत्ता साझेदारभित्र खटपट भएसँगै आएको देखिन्छ ।
अवसर गुमाउन हुन्न– अष्टलक्ष्मी शाक्य
नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सत्ता साझेदारभित्र अविश्वास सिर्जना गराएको बताउँछिन् । उनको बुझाइमा प्रचण्डको अभिव्यक्ति निकै आलोकाँचो खालको छ ।
“यस्ता अभिव्यक्ति प्रधानमन्त्रीको तहबाट आउनु सुहाउने कुरा होइन, प्रधानमन्त्रीले त सबैलाई समेट्ने ढंगबाट बोल्नुपर्छ”, शाक्यले भनेकी छिन्, “यस्ता अभिव्यक्तिले अविश्वास जन्माउँछ, दुरी बढाउँछ, यस्ता आलोकाँचो अभिव्यक्ति दिँदा जनताका पनि सन्देह जाग्छ ।”
वामपन्थीहरुले पाएको यो अवसरलाई गुमाउन नहुने तर्क शाक्यको छ । जसको लागि एमाले र माओवादी नेतृत्वबीच गम्भीर समीक्षा हुनुपर्ने उनको भनाई छ ।
शाक्यले अगाडि भनेकी छिन्, “एमाले वा माओवादी यो वामपन्थीहरुको लागि अवसर हो, यसमा जिम्मेवार भएर लाग्न आवश्यक छ, यो अवसरलाई गुमाउन हुन्न, प्रचण्ड र ओली दुवै जिम्मेवार हुनुपर्छ ।”