जसिताको साम्राज्ञी र स्वस्तिमालाई प्रश्न- ‘समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ ?’-Sutra News

जसिताको साम्राज्ञी र स्वस्तिमालाई प्रश्न- ‘समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ ?’

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडौं । नायिका जसिता गुरुङले कार्यक्रममा आफूलाई बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् ।



जसिताले तीन दिनअगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडलाई लिएर आपत्ति जनाएकी हुन् । यस कार्यक्रमको प्रसारित एपिसोडमा नायिका द्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह गेस्टको रूपमा पुगेका थिए ।

यतिबेला यो कार्यक्रम विवादमा फसेका छ । कार्यक्रममा अन्य कलाकारहरूको नितान्त व्यक्तिगत विषयहरूमा टीकाटिप्पणी भएका थिए । कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले उनीहरूलाई केही आपत्तिजनक प्रश्न सोधेकी थिइन् । उनले स्वस्तिमा र साम्राज्ञीलाई नायक अनमोल केसीका दुई एक्स गर्लफ्रेन्डको नाम लिन भनेकी छिन् ।

स्वस्तिमा र साम्राज्ञीले नायिका जसितालाई नायक अनमोल केसीको अहिलेको प्रेमीका चिनाएका छन् । उनीहरुले केही कलाकारहरूको चरित्रमाथि नै औँला उठाउँदै सोचविचारबिनै नाम लिइदिन्छन् । यसरी खुलेआम रूपमा उनीहरूले कार्यक्रममा उपस्थित भएर अरूको निजी जीवनमा असर पर्ने गरी टिप्पणी गरेका थिए ।  कसैको निजी जीवनको बारेमा यसरी सार्वजनिक कार्यक्रममा भन्नु गलत रहेको भन्दै उनीहरूको आलोचना भइरहेको छ ।

कार्यक्रम प्रस्तोता ओसिनले उक्त कार्यक्रमको ‘बजर राउन्ड’मा स्वस्तिमा र साम्राज्ञीलाई सोधेकी थिइन्, ‘पहिले धिरज मगरसँग डेट गरेकी एक नायिका जो अहिले अनमोल केसीसँग डेट गरिरहेकी छिन् ? उनी को हुन् ?’ यसको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसिता गुरुङ भन्दै नाम लिइन् । यसपछि, साम्राज्ञीले थप्छिन्, ‘धिरज मगर, प्रदीप खड्का अनि अनमोल केसी ।’

ओसिनले फेरि उनीहरूलाई सोधिन्, ‘अनमोल केसीका कति वटा गर्लफ्रेन्ड थिए र उनीहरूको नाम के हो ?’ यसमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताउँदा स्वस्तिमाले नायिका आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् ।

आनासँग त अनमोलको कहीँ कतै नाम जोडिएको थियो , तर स्वस्तिमाले अश्मिको नाम लिँदा साम्राज्ञी नै आश्चर्यमा परेको देखिन्छ । तर, स्वस्तिमाले मलाई त्यस्तो लाग्यो अनि भने भनेर जवाफ दिएकी छिन् । यसरी स्वतिमालाई लागेकै भरमा अन्य व्यक्तिको बारेमा जे पनि भन्नु कति ठूलो बच्पना हो ?

स्वस्तिमा र साम्राज्ञीको हो असुहाउँदो हर्कतलाई हेरिरहँदा उक्त कार्यक्रमकी होस्ट ओसिन सिटौलालाई पनि नजर अन्दाज भने गर्न मिल्दैन । कान्तिपुर जस्तो प्रतिष्ठित टेलिभिजनमा अर्काको व्यक्तिगत जीवनमा लाञ्छना लगाउने तरिकाको गेम बनाउने उनी नै हुन् । अझ उनले यस्तो गेम खेलाइन् कि उनले सोधेको प्रश्नको उत्तर नदिइएको खण्डमा नायिकाहरूले आफ्नो कपडा खोल्नु पर्ने । गेमको नाममा उनले जुन अपाच्य हर्कत गरिन् यो साँचै नै आफैमा लाजमर्दो कुरा हो । त्यसैले यस कार्यक्रमलाई नै लिएर अहिले सबैले विरोध गरिरहेका छन् ।

यसबारेमा अनमोल र जसिताले आपत्ति जनाएका छन् । जसिताले आफूलाई बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै नायिका द्वय स्वस्तिमा, साम्राज्ञी र कार्यक्रम प्रस्तोता ओसिन माथि गम्भीर प्रश्नहरू तेर्स्याएकी छन् ।

यस्तो छ जसिताले फेसबुकमा लेखेको स्ट्याटसको भावानुवाद:

मैले यस विषयमा बोल्नैपर्ने भयो । म यो कहिले बुझ्दिन कि किन मान्छेहरू राष्ट्रिय टेलिभिजनमा गएर कसैको व्यक्तिगत जीवनको बारेमा कुरा गर्छन् जब कि उनीहरूले त्यो व्यक्तिलाई राम्ररी चिनेका पनि छैनन् । यो अन्तर्वार्ता हेरिसकेपछि म साँच्चिकै तिनै जनासँग दुःखी छु। के हामी साँच्चै एउटा महिलाले अर्को महिलालाई गिराउने दौडमा छौँ रु व्यक्तिगत रूपमा मेरो तीमध्ये कसैसँग कुनै इस्यू छैन। सुरुदेखि नै, मैले उहाँहरूलाई राम्रो अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गरेको छु। के तपाइँहरुलाई थाहा छ कि तपाईँहरू के बोल्दै हुनुहुन्छ र तपाईँहरूको त्यो बोलीले कति जनाको जिन्दगीमा असर पर्छ ?

के तपाईँलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु ? के तपाईँहरूलाई लाग्दैन कि तपाईँहरूले दिनुभएको अन्तर्वार्ता र समाचारहरू मेरो परिवारहरूले पनि हेर्नुहुन्छ भनेर? समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ तपाईँहरू ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम र चर्चा गर्ने कारण के हो? ओसिन सिटौला, स्वस्तिमा खड्का, कान्तिपुर टिभी, र पक्कै पनि साम्राज्ञी (त्यसपछि उनले मलाई ब्लक गरिन्)।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट