टी २० विश्वकपमा अफगानिस्तानले कीर्तिमानी जित निकाल्दा अष्ट्रेलियालाई पर्‍यो धक्का-Sutra News

टी २० विश्वकपमा अफगानिस्तानले कीर्तिमानी जित निकाल्दा अष्ट्रेलियालाई पर्‍यो धक्का

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडौं । अमेरिका र वेष्ट इण्डिजमा जारी टी २० विश्वकपको अन्तिम आठबाट उपाधिको दाबेदार अष्ट्रेलिया बाहिरिएको छ । दाबेदार टोली अष्ट्रेलिया बाहिरिँदा अफगानिस्तानले कीर्तिमान बनाएको छ ।



मंगलबार बिहान सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई आठ रनले पराजित गर्दै कीर्तिमान बनाएको हो । वर्षाले प्रभावित बनेको खेलमा नाटकीय मोडहरू आएका थिए ।

ग्रुप ‘एक’बाट अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान सेमिफाइनलको दौडमा थिए । अष्ट्रेलिया अफगानिस्तानको पराजय चाहिरहेर अन्तिम चारमा जान चाहन्थ्यो । तर, आफै दुई खेलमा पराजित भएर बसेको अष्ट्रेलियाका लागि आफूले चाहेको जस्तो हुन सकेन ।

खेलको ११.४ ओभरमा वर्षाले खेल बिथोलिएपछि लक्ष्य परिमार्जन गरिएसँगै बंगलादेशको चुनौती समाप्त भयो ।

बंगलादेश विजयी हुँदा अष्ट्रेलियाको भाग्य खुल्ने सम्भावना भए पनि अफगानीस्तानका कप्तान रासिद खानले आफ्नो टोलीका लागि कीर्तिमान बनाए ।

११ औँ ओभरमा रसिद बलिङमा उत्रिए । यही ओभर खेलको टर्निङ प्वाइन्ट बन्न पुग्यो । उनले दुई बलमा लगातार विकेट लिएपछि बंगलादेशले ७ विकेट गुमाउन पुग्यो ।

अन्तिम दुई ओभरमा बंगलादेशलाई जितका लागि १२ रन चाहिएको थियो । तर, दुई विकेट मात्र हातमा रह्यो । १८ औँ ओभरमा नबिन उल हकले लगातार दुई विकेट लिँदै अफगानिस्तानलाई ऐतिहासिक जित दिलाए ।

अफगानिस्तान विजयी हुँदै गर्दा सबैभन्दा दुःखी बन्न पुग्यो अष्ट्रेलिया । भारतसँग पराजित बनेको अष्ट्रेलियालाई अफगानिस्तानको जितले थप पीडा दिएको थियो । यता, अफगानिस्तानले पहिलो पटक अन्तिम चारमा प्रवेश गर्दै कीर्तिमान बनायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट