सामाजिक सञ्जालमै रवि बदनाम !-Sutra News

सामाजिक सञ्जालमै रवि बदनाम !

राजनीतिक विश्लेषक मुकुन्द आचार्य भन्छन्– खराब पात्रको पनि समाजमा चर्चा हुन्छ

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मात्रै होइनन्, देशकै उपप्रधान तथा गृहमन्त्री पनि हुन् । उनको काँधमा समग्र गृहप्रशासनको जिम्मेवारी छ । 



तर, यति धेरै महत्वपूर्ण जिम्मेवारी बोकेका लामिछाने यतिखेर नामी होइन, बदनामी भइरहेका छन् । विशेषगरी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेविरुद्ध एकातिर सहकारी पीडितहरू आक्रोशित छन् भने अर्कोतिर कामभन्दा ‘स्टन्ट’मा रमाउने उनको शैलीबाट आम जनता आजित देखिन्छन् । जसको उदाहरण सामाजिक सञ्जालमा पोखिने अभिव्यक्तिलाई पनि लिन सकिन्छ । 

कुनै समय ‘रवि आऊ, देश बचाऊ’ भन्ने नाराहरूले सजिने सञ्जाल यतिखेर ‘सहकारी पीडितलाई न्याय देऊ’ भन्ने अभिव्यक्तिहरूले भरिन्छन् । सोमबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले राखेको स्टाटसलाई हेर्‍यौं भने पनि त्यसले स्पष्ट पार्छ । 

जहाँ उनले ‘संसदमा गृह मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफसँगै केही महत्वपूर्ण जानकारी गराउँदैछु’ भनेर लेखेका छन् । जसमा अधिकांश कमेन्ट गालीयुक्त मात्रै छ । धेरैले उनको भनाइलाई मजाकको रुपमा पनि लिएका छन् । 

उनको स्टाटसमा कमेन्ट गर्दै राम ढुंगाना लेख्छन्, “पहिला-पहिला रवि लामिछानेको पोष्टमा एउटै नकारात्मक कमेन्ट आउने थिएन, अहिले एउटै सकारात्मक कमेन्ट भेटिन्न, लोकप्रियता त सत्तामा गएसँगै खाडलमा जाकिएछ, यता आएका कमेन्ट हेर्दा, २०८५ मा त एक सिट पनि रास्वपाले नजित्ला जस्तो पो देखियो !”

हुन पनि अधिकांश कमेन्ट ‘जिबी राई खोई ?’, ‘जिबीलाई किन भगाएको ?’, ‘सहकारी पीडितलाई कहिले न्याय दिने ?’, ‘झुट खेती नगर !’ जस्ता छन् । उनको स्टाटसमा रियाक्ट पनि हाँसो र आक्रोशयुक्त बढी छ । 

लामिछानेविरुद्ध पोखराको सूयदर्शनसहित विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप छ । उनीविरुद्ध सहकारी विभागदेखि विभिन्न निकायमा उजुरी परेको छ । 

राजनीतिमा आउनुअघि लामिछाने ग्यालेक्सी फोर के नामक टेलिभिजनको प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । उनी आबद्ध रहेको टेलिभिजनले विभिन्न सहकारीबाट गैरकानुनीरूपमा रकम भित्र्याएको थियो । जुन घटनाक्रमकै बीच लामिछानेका सहकर्मी जिबी राई अहिले फरार छन् । 

राई फरार हुँदा लामिछाने भने अहिले गृहमन्त्रीको जिम्मेवारीमा छन् । विडम्बनाकाे कुरा, लामिछाने गृहको जिम्मेवारीमा आएसँगै सहकारी ठगी प्रकरणमाथिको छानबिन प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

प्रतिपक्षीको निरन्तरको दबाब पछि सहकारी ठगी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति त बनेको छ तर, एक महिना हुँदा पनि समितिले छानबिनलाई चुस्तरुपमा अगाडि बढाउन सकेको छैन ।

यस्तोमा लामिछाने भने ‘जिबी राईको लोकेसन पत्ता लाईसक्यो’ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै सस्तो लोकप्रियता बटुल्न मस्त छन् । गृहप्रशासनको जिम्मेवारीमा रहेका लामिछानेको सस्तो अभिव्यक्तिले थप राईमाथिको छानबिनलाई अनिश्चितता बनाइरहेको छ । जुन घटनाक्रमका बीच उनीमाथि थप आक्रोश बढ्दो छ । जुन सामाजिक सञ्जालमा प्रष्ट देख्न सकिन्छ ।

सञ्जालबाटै उदय

लामिछानेको उदय टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा भएको पाइन्छ । विशेषगरी न्यूज ट्वान्टी फोर टेलिभिजनमा रहँदा सन् २०१३ तिर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तरवार्ता चलाएर गिनिज वर्ल्ड रेकड्स राख्न सफल भएपछि उनको चर्चा चुलिएको थियो । लामिछानेले उक्त टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तुत गर्ने गरेका थिए ।

जनतासँग सिधै जोडिएको उक्त कार्यक्रमबाट उनले निकै चर्चा पनि बटुले । सामाजिक सञ्जालमा विशेषगरी उनको पक्षमा सोही कार्यक्रम निर्माणपछि नै तारिफ हुन थाल्यो । यद्यपि, उनका विषयमा थुप्रै नकारात्मक कुराहरु बाहिर नआएका भने होइनन् । तर, तारिफले अन्य आलोचकहरूलाई छाँयामा पारेको पाइन्छ ।

लामिछाने न्यूज २४ मा रहँदै सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिए । पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेमाथि विभिन्न आरोपहरू लगाउँदै भिडियो क्लिप सार्वजनिक गरेका थिए । यद्यपि, अदालतले उनलाई उक्त मुद्दामा निर्दोष करार ग¥यो । अनौठो विषय, आपराधिक घटनामा मुछिए पनि लामिछानेविरुद्ध विरोधभन्दा सहानुभूति बढी देखियो । 

जुन घटनापछि २०७८ असोजमा लामिछानेकै अगुवाइमा ग्यालेक्सी फोरके टेलिभिजन सुरुवात भयो । तर, आफूप्रति सामाजिक सञ्जालमा देखिएको क्रेजलाई बुझेका लामिछानेले लगत्तै टेलिभिजन कर्म छाड्दै आफूलाई राजनीतिमा होमे । उनले २०७९ मंसिरको आम निर्वाचनलाई केन्द्रित गराएर २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दल खोलेका थिए ।

राष्ट्रिय सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणासभालाई सम्बोधन गर्दै रवि लामिछाने । तस्बिर : सामाजिक सञ्जालबाट

सामाजिक सञ्जालमा देखिएको अपार जनमत २०७९ मंसिरमा भएको चुनावले पनि देखायो । लामिछाने स्वयम् सर्वाधिक मतसहित विजयी मात्रै भएनन्, उनको पार्टीबाट उठेका अन्य सात उम्मेदवारले पनि प्रत्यक्षतर्फ जित हात पारे । 

सँगै २०८० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाले थप जनआधार बढाएको देखायो । नागरिकता प्रकरणपछि सांसद र मन्त्री पद गुमाएका लामिछाने पुनः अपार मतसहित विजयी मात्रै भएनन् सँगै उनको पार्टीबाट उठेका स्वर्णीम वाग्ले पनि तनहुँ–१ बाट उस्तै मत ल्याएर विजयी भए । जसले लामिछाने र उनको पार्टीको पक्षमा निकै जनमत बढेको देखायो । 

यद्यपि, संसद यात्रा र सत्ता यात्रासँगै भने रास्वपाको पक्षमा देखिएको सामाजिक सञ्जालको जनमत वितरिएको छ । जुन अहिले सहकारी ठगी प्रकरणसम्म आउँदा थप गिजाेलिएको पाइन्छ । 

जसलाई गत वैशाख १५ मा भएको इलामको उपनिर्वाचनले पनि स्पष्ट पारेको छ । सहकारी प्रकरणले पार्टी थिचिँदा पार्टीबाट उठेका उम्मेदवार मिलन लिम्बुले इलाम–२ मा जमानत पनि जोगाउन सकेनन् । 

अहिले रास्वपा सरकारमा छ । स्वयम् लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा छन् । तर, यस्तोमा उनी मात्रै होइन, उनको पार्टी पनि थप विवादित बनिरहेको छ । विभिन्न कडीलाई आधार मानेर हेर्दा, लामिछानेको लोकप्रियता निकै घटेको छ ।

राजनीतिक विश्लेषकको आँखामा लामिछानेको अलोकप्रियता

राजनीतिक विश्लेषक मुकुन्द आचार्य लामिछानेको उदय नै सही धरातलबाट नभएको बताउँछन् । सस्तो लोकप्रियता नै लामिछानेको राजनीतिक जीवनका लागि हानिकारक भएको आचार्यको तर्क छ । 

“अहिले लामिछाने आफ्नै कारण, आफैं बदनामित छन्, उनका निम्ति अरु कोही कम्मर खसेर लाग्नुपर्ने अवस्था छैन”, आचार्य भन्छन्, “एकातिर जसरी सत्ता राजनीति बाहिर हुँदा लामिछानेले प्रश्न उठाउँथे, आज सत्तामा हुँदा नतिजा दिन सकेका छैनन् र अर्कोतर्फ एकपछि अर्को काण्डले आफैं विवादित बनिरहेका छन् । जुन अरुले बनाइदिएको होइन । यो आफैंले सिर्जना गरेको परिस्थिति हो ।”

यद्यपि, विवादकै बीच पनि लामिछानेको पक्षमा आशा गर्नेहरूको भीड ठूलै छ । तर, त्यो आशाले मूर्तरूप पाउन नसक्ने तर्क आचार्यको छ ।
“लामिछानेसँग न त नीति छ, न त राजनीतिक अनुभव छ, यसले उनी कता जाँदैछन्, उनी आफैंलाई थाहा छैन”, आचार्यले भनेका छन्, “सस्तो लोकप्रियताले सधैँ टिकिने भन्ने हुँदैन, यस्तोमा समर्थकले बुझ्न आवश्यक छ ।”

लामिछानेको सन्दर्भमा चर्चा र लोकप्रियतालाई शुभेच्छुकहरूले छुट्याउन आवश्यक रहेको आचार्यको भनाई छ । “खराब मान्छेको समर्थक पनि त समाजमा हुन्छन् तर, त्यसैको चर्चा हुँदैमा लोकप्रिय भन्ने हुँदैन, खराब पात्रको पनि चर्चा निकै हुन्छ ।” 

वैकल्पिक राजनीतिको डिङ दिँदै भएको रास्वपाको उदय लामिछानेकै कारण संकटमा रहेको आचार्यको बुझाई छ । जसले आम विकल्प खोजिरहेका जनतालाई निराश बनाएको आचार्यले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट