काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब दुई करोड रुपैयाँ लुटपाट गर्ने चार जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ ।
भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित पाँच जनाले सीआईबीको टोलीभन्दै प्रवेश गरेर दराजमा रहेको दुई करोड रुपैयाँ लुटेर भागेको बताइएको छ ।
उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ । घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन् । प्रहरी हवल्दार बोहरा महाराजगञ्ज २ नम्बर गणमा कार्यारत थिए । उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको छ ।
त्यसैगरी, उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सुजन रसाइली, भीमबहादुर तामाङ, मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन् ।