बजेट पारितसँगै गठबन्धनभित्रको खटपट पनि तत्काललाई सामसुम-Sutra News

बजेट पारितसँगै गठबन्धनभित्रको खटपट पनि तत्काललाई सामसुम

‘माओवादी बजेट’ भन्दै ओली बजेटको विरुद्धमा उभिँदा रास्वपा र एकीकृत समाजवादीले पनि असन्तुष्टि पोखेका थिए

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडाैं । सत्तारुढ दलभित्रै चर्को असन्तुष्टिकाबीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएकाे छ । मंगलवार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित भएकाे हाे ।उपसभामुख इन्दिरा रानाले बजेट बहुमतले पारित भएको घोषणा गरेकी थिइन् ।



सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमाथि गत जेठ २९ गतेदेखि संसदमा निरन्तर छलफल चलेकाे थियाे ।

विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

यसक्रममा सत्तारूढ दलकै सांसदहरुले बजेटले वर्तमान आर्थिक संकट र आम जनताको आधारभूत आवश्यकता र विकास अनुकुल हुने गरी बजेट नआएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए । सांसदहरूले प्रधानमन्त्रीको प्रतिबद्धताअनुरुप बजेट नआएको भन्दै आलोचना गरेका थिए ।

सांसदहरुले दोहोर्‍याई/तेहेर्‍याई जिज्ञासा राखेपछि बजेटमा कमजोरी भएको र मन्त्रीहरुले समेत आफ्नो निर्देशनलाई गम्भीरतापूर्वक नलिएको स्वीकार प्रधानमन्त्रीले गरेका थिए ।

अझ त्यसअघि बजेटको विषयलाई लिएर सत्ता समीकरणकाे मुख्य दल नेकपा (एमाले)ले चर्को असन्तुष्टि जनाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंमले अर्थमन्त्री पुनबाट प्रस्तुत बजेटलाई  ‘माओवादी बजेट’को संज्ञा दिएका थिए ।

एमालेले विराेध जनाइरहँदा अर्को सत्ता साझेदार रास्वपा र एकीकृत समाजवादीले पनि बजेटप्रति असन्तुष्टि जनाएको थियो । बजेटकै विषयमा असन्तुष्टि जनाएको रास्वपाले जुनसुकै बेला सरकार छाड्न सक्ने चेतावनी पनि दिएको थियो ।

यही विषयलाई लिएर गठबन्धनमा खटपट आएको र गठबन्धन फुटको पहिलो चरणको रुपमा समेत विश्लेषण भएको थियो । तर, मंगलबारको प्रतिनिधिसभाले बजेट पारित भएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारको संकट प्राविधिकरूपमा तत्कालका लागि टरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट