सुन व्यवसायीको प्रदर्शन : एकातिर देखाएर, अर्कोतिर प्रहार-Sutra News

सुन व्यवसायीको प्रदर्शन : एकातिर देखाएर, अर्कोतिर प्रहार

महासंघका महासचिव धर्मसुन्दर बर्जाचार्य भन्छन्– ऋद्धिसिद्धिको कारण सबैको व्यापार चाैपट बन्याे

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । संसदमा बजेट प्रस्तुत भएलगत्तै सुनको मूल्य बढाइयो । व्यवसायीहरूले बजेट प्रस्तुत भएको पर्सिपल्ट (जेठ १७ गते)देखि नै मूल्य बढाएर सुनको किनबेच गरेका थिए । बजेटमा सुनको भन्सारदर १५ बाट बढाएर २० प्रतिशत पुर्‍याइएको थियो ।



भन्सार दर लागु गर्ने सन्दर्भमा सबैजसो सुनचाँदी व्यवसायीहरू एकमत देखिए । व्यवसायीहरूले ‘बजेट लगत्तै भन्सार दर लागु हुने अभ्यास रहेको’ तर्क पनि गरेका थिए ।

यद्यपि, सदनमा बजेट प्रस्तुत भएको र नयाँ भन्सारदरअनुसार सुनको किनबेच भएको एक महिनापछि सुन व्यवसायीहरू भन्सारदर फिर्ता हुनुपर्ने भन्दै सडकमा ओर्लिएका छन् । बुधबार व्यवसायीहरूले काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका छन् । 

प्रदर्शनका क्रममा व्यवसायीहरूले पुरानै भन्सार दर लागू गर्न माग गरेका छन् भने राष्ट्र बैंकलाई कोटा सिस्टम हटाउन पनि माग गरेका छन् । सरकारको यस्ता नीतिले व्यवसायिक वातावरण खल्बलिएको व्यवसायीहरूको आरोप छ । 

सँगै अवैध सुनको कारोबार पनि फस्टाएको भनाई व्यवसायीहरूको छ ।

सूत्र न्यूजसँगको कुराकानीमा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बर्जाचार्यले नयाँ भन्सारदरले व्यवसायिक वातावरण बिग्रिएको बताए । उनका अनुसार पुरानै भन्सारदर कायम गराउँदै कोटा सिस्टम हटाउनुपर्छ ।

“भन्सारदर बढ्दा एकातिर अवैधानिक बाटोबाट सुन आयात हुन थाल्यो भने अर्कोतिर किनबेच प्रभावित भयो, कोटा सिस्टमले पनि यसलाई सहयोग गरिरहेको छ”, बर्जाचार्यले भनेका छन्, “सरकारबाट यी कुरा खारेज नभएसम्म व्यवसायिक वातावरण बन्दैन ।” 

तर, प्रदर्शन ऋद्धिसिद्धि ज्वेलर्सविरुद्ध केन्द्रीत

तुल, ब्यानर, पर्चा अनि पम्पेल्टमा भन्सारदर र कोटा सिस्टमको खारेजीको माग गरिएपनि खासमा सुन व्यवसायीहरूको विरोध प्रर्दशन ऋद्धिसिद्धि ज्वेलर्सविरुद्ध केन्द्रीत बनेको छ । ब्यानरमा जे लेखिएपनि प्रदर्शनको क्रममा व्यवसायीहरूले ऋद्धिसिद्धि ज्वेलर्सविरुद्ध नै आक्रामक नाराबाजी गरेका थिए ।

जुन नाराबाजीकै बीच ऋद्धिसिद्धि ज्वेलर्सलाई सुरक्षाकर्मीले पनि घेरा हालेर सुरक्षा दिएका थिए ।  

व्यवसायीहरूले ऋद्धिसिद्धि ज्वेलर्सको व्यापार वैधानिक दायरामा नभएको आरोप लगाउने गरेका छन् । उनीहरूका अनुसार ऋद्धिसिद्धि ज्वेलर्सले जर्ती नलिने निर्णय गर्नुमै कैफियत छ ।

“यो स्पष्ट छ, कसैले पनि घाटा खाएर व्यापार गर्दैन, ऋद्धिसिद्धि ज्वेलर्सको व्यापार शंकास्पद छ, उसको कारण अन्यको व्यापार पनि प्रभावित भएको छ”, महासचिव ब्रजाचार्यले भनेका छन्, “सबैलाई चौपट बनाउने अवस्था आएपछि विरोधमा उत्रनु स्वभाविक हो ।”

केही दिनअघि ऋद्धिसिद्धि ज्वेलर्सले जर्ती नलाग्ने र ज्यालामा ७ प्रतिशतमात्र शुल्क लिने बताएको थियो । ऋद्धिसिद्धि ज्वेलर्सको उक्त घोषणापछि कालिगढ तथा व्यवसायी विरोधमा उत्रिएका छन् । 

यसअघि पनि ऋद्धिसिद्धि ज्वेलर्सविरुद्ध व्यवसायीहरु एकजुट हुँदै विरोधमा उभिएका थिए । व्यवसायीहरू मिलेर ऋद्धिसिद्धि ज्वेलर्सलाई नेपाल रत्न तथा आभूषण संघको सदस्यबाटै हटाएका थिए । जुन विषय अदालतसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट