अध्यक्ष पदमा माधव र घनश्याम भिड्ने पक्का, झलनाथको समर्थन घनश्यामलाई-Sutra News

अध्यक्ष पदमा माधव र घनश्याम भिड्ने पक्का, झलनाथको समर्थन घनश्यामलाई

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडाैं । असार १६ गतेदेखि काठमाडौंमा सुरु हुने नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनमा अध्यक्ष पदका लागि माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिष्पर्धा हुने भएको छ । नेपाल र भुसालसँगै अर्का नेता झलनाथ खनालले पनि अध्यक्ष पदमा दावी गर्दै आएकोमा खनाल सो दाबीबाट पछि हटेपछि नेपाल र भुसालबीच प्रतिष्पर्धा हुने निश्चित भएकाे हाे ।



पार्टी नेतृत्वमा आउने दाबी छोड्दै गर्दा खनालले माधव नेपाललाई होइन, अर्का आकांक्षी घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् । बुधबार बिहान खनाल निवास डल्लु पुगेका भूसाललाई खनालले पार्टी अध्यक्ष बन्न साथ दिने बचन दिएका हुन् ।

दुई नेताबीचको छलफलमा भुसाल खनालको उत्तराधिकारीका रुपमा पार्टी अध्यक्षको उम्मेद्वार बन्ने सहमति भएको हो ।

खनाल र भुसाल मिलेसँगै माधव नेपालसँग कुरा गरेर भुसाललाई सर्वसम्मत अध्यक्ष बनाउने खनाल–भुसाल समूहले तयारी गरेको छ । यता माधव नेपाल भने जसरी पनि अध्यक्षमा दोहोरिने रणनीतिमा देखिएका छन् । उनी र उनको समूह पनि अन्य आकांक्षीसँग कुरा गरेर सर्वसम्मतरुपमा नेतृत्व पुनः हत्याउने दाउमा छ ।

सर्वसम्मत नभए पनि चुनावमार्फत भए पनि अध्यक्ष बन्ने तयारी नेपाल र उनको समूहको छ ।

खनाल–भुसाल समूहबाट उम्मेद्वार बन्ने भएपछि घनश्याम भुसाल केही बलिया भएका छन् । यो समूहले नेकपा (एमाले)बाट गरेको विद्रोहलाई पुष्टि हुने गरी एकीकृत समाजवादीलाई एमालेभन्दा अलग पार्टीको रूपमा अगाडि बढाउने मुद्दालाई अगाडि सारेको छ ।

खनालले त एमालेजस्तै हुने हो भने अलग पार्टी चाहिँदैन भन्दै सार्वजनिकरूपमै नेपाललाई पटक–पटक चुनौती दिँदै आएका छन् । हालका महासचिव भुसालले अध्यक्षका रूपमा पार्टीलाई कसरी हाँक्लान् भन्ने उत्सुकता कार्यकर्तामा हुनसक्छ ।

त्यसै पनि माधव नेपाल कमजोर उम्मेद्वार होइनन् । एमालेकालदेखिकै नेतृत्व अनुभव, कार्यकर्ताहरूसँगको निकट सम्बन्ध, प्रधानमन्त्री भइसकेको नेता र एमालेसँग गरेको विद्रोहको समेत नेता हुनु माधव नेपालका बलिया पक्ष हुन् ।

यद्दपि, आन्तरिक राजनीति र समीकरणमा आएको फेरबदलसँगै एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन थप रोचक बन्ने भएको देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट