काठमाडौं । कार्यक्रम प्रस्तोता एवम् कलाकार सुरज सिंह ठकुरी पाँच वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । उनले प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’बाट पुनरागमन गर्ने पक्का भएको हो ।
पछिल्लोपटक सन् २०१९ मा फिल्म ‘सभर लभ लेखकको भूमिकामा अभिनय गरेका सुरजले मंगलबार इन्स्टाग्राममार्फत आफू पाँच वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी दिएका छन् । ‘सभर लभ’पछि सुरज टेलिभिजन कार्यक्रममा बढी व्यस्त रहेका थिए ।
आगामी भदौपछि छायांकन सुरु गर्न लागिएको साइन्स-फिक्सन फिल्म ‘एक्लो’मा उनी काल पात्रको भूमिकामा देखिनेछन् । सन् २०१३ मा ‘कर्कस’बाट डेब्यु गरेका ठकुरीले ‘नाइँ नभन्नू ल’को दोस्रो र तेस्रो श्रृंखला, ‘जंगे’ फिल्ममा अभिनय गरेका छन् ।
अब फिल्मलाई पनि प्राथमिकता दिने योजनामा रहेका सुरज लामो समय कान्तिपुर टेलिभिजनमा ‘इट्स माई शो’ र ‘रोडिज’को पाँचौं सिजनलाई होस्ट समेत गरेका थिए ।
फिल्म ‘एक्लो’ले सन् २०३० सम्म एक घातक महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ । यसलाई निर्देशक शाही स्वयंले लेखेका हुन् । निर्देशक शाही निर्देशित पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ गतवर्ष प्रदर्शन भएको थियो ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा सुरजसँगै प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल, सुनिल थापा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहनेछ ।
फिल्म निर्माणमा बेलायतको ह्याम्साएर एकाउन्टेनले पनि सहकार्य गरेको छ । सन् २०२५ मा रिलिज लक्ष्य राखिएको फिल्मको कार्यकारी निर्मातामा क्षितिज सुवेदी खत्री छन् । फिल्मका लागि यतिबेला नेपालमै पहिलोपटक अन्तरिक्ष ‘रकेट सुट’को निर्माण भइरहेको जानकारी प्राप्त छ । फिल्ममा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले जानकारी गराए ।