काठमाडौं । चर्चित गायक राजेश पायल राई पुनः मदिरा प्रकरणको विवादमा जोडिएका छन् । सांगितिक कार्यक्रमका लागि दुबई जान लागेका उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्किएका थिए ।
गायक राई अत्याधिक मदिरा सेवन गरेर बुधबार दुबई जान विमानस्थल पुगेका थिए । आज १२ बजेको फ्लाइ दुबईबाट जान लागेका उनलाई उडानमा रोक लगाइएको थियो । त्यसपछि उनको सो समयको फ्लाइट ‘क्यान्सिल’ गरिएको थियो ।
‘मदिराको कारण उहाँलाई जान दिएनौँ, त्यसैले उहाँको टिकट क्यान्सिल भएको हो,’ विमानस्थल प्रहरी स्रोतले भन्यो । ‘फ्रेस’ भएपछि मात्रै अर्को फ्लाइटबाट उनलाई जान अनुमति दिइने तयारी गरिएको छ ।
गायक राईलाई मदिरा सेवन गरेर हल्ला गरेका आरोपमा गत चैत २१ गते नयाँ बानेश्वर वृत्त प्रहरीले नियन्त्रणमा लिएको थियो । मदिरा खाएर हल्ला गरेको उजुरीपछि उनीसहित उनको सहयोगीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको थियो । भोलिपल्ट राई परिवारको जिम्मामा छुटेका थिए ।