मुकुल ढकालले ‘सर्जरी’ गर्न खोज्दा रास्वपामा तरंग-Sutra News

मुकुल ढकालले ‘सर्जरी’ गर्न खोज्दा रास्वपामा तरंग

सहमहामन्त्री बुर्लाकोटी भन्छन्– महामन्त्रीको शैलीले अनुशासनको विषय आकर्षित हुन्छ

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । उपनिर्वाचनमा इलाम–२ को नतिजा निकै निराशाजनक आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री डा. मुलुक ढकाललाई देश दौडाहामा पठाउने निर्णय ग¥यो । ढकालको नेतृत्वमा केही नेताहरु जेठ पहिलो सातादेखि एक महिने देश दौडाहामा निस्किए ।



असार ५ गतेसम्म चलेको दौडाहा अभियानमा ढकाल नेतृत्वको टिम ३८ जिल्लामा पुगेको थियो । उनीहरुले पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग पार्टीको अवस्थाबारे राय–परामर्श लिएका थिए । सोही राय–परामर्शका आधारमा ढकालले समीक्षा प्रतिवेदन तयार गरे ।

उनले पार्टी सभापति रवि लामिछानेलाई बुधबार समीक्षा प्रतिवेदन बुझाएका छन् । ढकालले देश दौडाहा अभियानलाई लिएर बुझाएको प्रतिवेदनले अहिले राजनीतिक वृत्तमा निकै चर्चा पाइरहेको छ । रास्वपाभित्र यस प्रतिवेदनलाई लिएर तरंग सिर्जना भएको छ ।

विशेषगरी ढकालले आफ्नो प्रतिवेदनमा पार्टी सिकिस्त बिरामी बनेको भन्दै ठूलो सर्जरीको खाँचो औंल्याएका छन् । “अहिलेको अवस्थामा यही तरिकाले पार्टी अघि बढे दुर्घटना हुने निश्चित छ”, पार्टी सभापति लामिछानेलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग ढकालले भनेका छन्, “पार्टी पूरै सिकिस्त बिरामी छ, ठूलो सर्जरीको आवश्यक छ ।”

उनले पार्टीको अवस्था लुकाउन सक्ने अवस्थामा नरहेको पनि बताएका छन् । सँगै उनले पार्टी अवस्थाका विषयमा आफू मौन बस्न नसक्ने पनि उल्लेख गरेका छन् ।

अर्कोतर्फ प्रतिवेदन बुझाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका ढकाल स्वयम्ले सञ्चार माध्यममार्फत प्रतिवेदन सार्वजनिक गराएका छन् । जसले रास्वपाभित्र ठूलो असहजताको अवस्था पनि सिर्जना भएको छ ।

के छ ढकालले बुझाएको प्रतिवेदनमा ?

पार्टी सभापतिकै कारण पार्टी सकिने अवस्थामा

सबैभन्दा महत्वपूर्ण विषय, ढकालले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहेका पार्टी सभापति लामिछाने सहकारी प्रकरणले बदनाम भएको बताएका छन् । सँगै त्यसको प्रभावले पार्टीलाई गम्भीर क्षति पुर्‍याएको बताएका छन् ।

इलाम–२ को नतिजालाई देखाएका उनले तत्कालै चुनाव भइहाले पार्टीले एक/दुई सिट मात्रै ल्याउन सक्ने निष्कर्ष ढकालको छ ।

“पार्टीको वर्तमान भनेको जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला, भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ”, उनले प्रतिवेदनमा लेखेका छन् ।

ढकालले सभापतिलाई लक्षित गरी ‘सर्जरी’को खाँचो प्रतिवेदनमार्फत औंल्याएका छन् ।

सत्ता सहकार्यको विकल्प

ढकालले आफ्नो प्रतिवेदनमा वर्तमान सत्ता सहकार्य रास्वपाका लागि घातक भएको पनि निष्कर्ष निकालेका छन् । आम नेता तथा कार्यकर्ता र शुभेच्छुकले वर्तमान सहकार्यको विकल्प खोज्न सुझाएको उनले बताएका छन् । उनका अनुसार एमाले र माओवादीसँग नभई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सहकार्य गरिनुपर्छ ।

“समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो, बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैको भनाइअनुसार उनी राजनीतिमा छैनन् र, उनी स्थानीय तहका प्रमुख हुन्, उनको विचारमा या गैरराजनीतिक पद हो”, उनले प्रतिवेदनमा भनेका छन्, “आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नको सट्टा मेयर बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रो लागि हितकर छ ।”

बालेनलगायतसँग सहकार्य गरेर गएको खण्डमा २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सक्ने उनको बुझाई छ । “बालेन, गोपी हमाल र हामी मिल्न सक्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ र यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन् तर, माहौल अहिलेबाटै बनाउन जरुरी छ”, प्रतिवेदनमा भनिएको छ ।

ढकालमाथि कारबाहीको सम्भावना

महामन्त्री ढकालले एकातिर पार्टी संकटउन्मुख भएको कुरा प्रतिवेदनमा लेखेका छन् भने अर्कोतिर उनले सार्वजनिकरुपमै यसबारे बोलेका छन् । पार्टी सभापतिलाई दिएको प्रतिवेदन सार्वजनिक गर्न पत्रमार्फत माग गरेका उनले सञ्चार माध्यममार्फत आफैंले सार्वजनिक गराएका छन् ।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी महामन्त्रीको व्यवहारले पार्टी अनुशासनको विषय आकर्षिक भएको बताउँछन् । “यो पार्टीको आन्तरिक डकुमेन्ट, जसले बनाउनु भयो, उहाँ आफैंले सार्वजनिक गरेर फेरि सार्वजनिक गर्न भन्नुभयो”, सहमहामन्त्री बुर्लाकोटीले भनेका छन्, “यो अनुशासनको विषय आकर्षित हुन्छ, यसबारे सचिवालय बैठक बसेर समिक्षा हुन्छ ।”

महामन्त्री जस्तो जिम्मेवार पात्रले पार्टी बिग्रियो भन्ने कि पार्टीलाई ठिक बनाउन लाग्ने भन्ने प्रश्न उब्जिएको बुर्लाकोटीको भनाई छ । “उहाँ जत्तिको जिम्मेवार व्यक्तिको काम पार्टी बिग्रियो भनेर भन्ने कि पार्टी सपार्न भूमिका खेल्ने, यो गम्भीर प्रश्न हो”, उनले भनेका छन् ।

ढकालले भाषा जस्तो उल्लेख गरेपनि पार्टी सभापति लामिछानेमाथि नै कारबाही गर्नुपर्ने शैलीमा प्रतिवेदन लेखेका छन् । अर्कोतर्फ, लामिछानेलाई असुरक्षित बनाउने गरी वर्तमान सत्ता सहकार्य त्याग्नुपर्ने बारे धारणा राखेका छन् ।

जसबाट लामिछाने पक्षधर झस्किएको देखिन्छ । उनले पार्टी सभापति लामिछानेलाई थप कमजोर बनाउने रणनीतिअन्तर्गत प्रतिवेदन लेखेको बुझाई लामिछाने पक्षधरको छ ।

यसअघि पार्टी केन्द्रीय सदस्य गणेश कार्की बाहेकले सार्वजनिकरुपमा पार्टीबारे यस्ता धारणा राखेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट