काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को प्रदर्शनमा रोक लगाइएको छ । रिलिजमा आएको एक हप्तापछि फिल्मले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले प्रदर्शनमा रोक लागाएको हो ।
फिल्म रि-लिज गर्दा पनि पुनः सेन्सर गर्नुपर्ने प्रावधान रहेकोमा ‘आचार्य’ निर्माण टिमले उक्त प्रक्रिया पूरा नगरेपछि प्रदर्शनमा रोक लगाइएको चलचित्र विकास बोर्डको भनाइ छ । १३ वर्षअघि रिलिज भइसकेको फिल्म गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुन: प्रदर्शन गरिएको थियो ।
“एकपटक सेन्सर गरेको चलचित्र दश वर्षसम्म सार्वजनिक प्रदर्शन गर्न पाइन्छ । त्यसपछि प्रदर्शन गर्नुपरे पुनः सेन्सर गर्नुपर्छ,” चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी भन्छन्, ‘आचार्यमा भक्तराज आचार्यको मृत्युपछिका दृश्य पनि राखेको देखियो । दृश्य थपघट गरेपछि पनि पुनः सेन्सर गराउनुपर्छ ।’
गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्ष र उपलब्धीमा बनेको फिल्म ‘आचार्य’मा केही दृश्य सम्पादन गरेर रिलिज गरिएको थियो । फिल्ममा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना देखाइएको छ । भक्तराजले पाएको सफलता र करियरका लागि गरेको संघर्षको कथा फिल्ममा छ । २०४६ सालमा सांघातीक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई फिल्ममा देखाइएको छ ।
प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्ममा भक्तराजका जेठा छोरा सत्यराज आचार्य मुख्य भूमिकामा छन् ।
अन्य कलाकारमा सुनील पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतको अभिनय छ । अरुणाले भक्तराजको श्रीमती भएर खेलेकी छिन । देवजंग थापाले पुन सम्पादन गरेको फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले प्रदर्शन गरेको थियो ।