काठमाडौं । चिनियाँ नागरिकसँग विवाह गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छन् । राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ ।
राईले फेसबुक म्यासेञ्जरबाट ती महिलालाई कुराकानी गरी चिनियाँसँग काठमाडौंको ठमेलमा बोलाएकी थिइन् । ती चिनियाँले महिलालाई विवाह गरेर २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्याएका थिए ।
ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ती चिनियाँले एक लाख ५० हजार रुपैयाँमा बेचबिखन गरी नेपाल फर्किएका थिए । उनले महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए ।
महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्किने वातावरण मिलाएको थियो । महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको मिश्रले बताए ।