‘घरज्वाइँ’को ट्रेलरमा एकले अर्काको परिवारलाई स्वीकार्न नसक्दाको द्वन्द्व-Sutra News

‘घरज्वाइँ’को ट्रेलरमा एकले अर्काको परिवारलाई स्वीकार्न नसक्दाको द्वन्द्व

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।



सार्वजनिक ४ मिनेट २ सेकेण्ड लामो ट्रेलरमा युवायुवतीबीचको आकर्षण, प्रेम, सर्त, बाध्यता र अर्काको परिवार रिझाउन नसक्दाको कथा समेटिएको छ । एकले अर्काको परिवारलाई सहजै स्वीकार्न नसक्दाको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।  साथै, फिल्मका मुख्य पात्र दयाहाङ राईले मिरूना मागर पाउनका लागि गरेको संघर्ष, त्यसक्रममा आउने परिस्थिति र सम्बन्धमा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ।

मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत कथासार बुझाउने ट्रेलरले एउटा गाउँमा शिक्षण पेशा गरिरहेको युवा र त्यहीँकी मगर युवतीसँग प्रेम बसेपछि आउने आरोह-अवरोहलाई देखाएको छ । मिरुनाका पिता शिशिर वाङ्गदेलले छोरीसँग विवाह गर्नेले घरज्वाइँ बस्नुपर्ने सर्त राखेपछि दयाहाङले जबरजस्ती समातेर मिरुनालाई आफ्नो घर भित्राउँछन्, जसलाई मगर समुदायमा ‘केटी छोप्ने’ चलन भनिन्छ । तर, शिशिरले छोरीलाई जबरजस्ती घर फिर्ता लिएर आउँछन् । त्यसपछि के युवतीलाई पाउनका लागि युवा घरज्वाइँ बस्न राजी हुन्छन् भन्ने मुख्य कथा ट्रेलरमा देखाइएको छ।

अनिल बुढामगर निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता जनक घर्ती मगरले पाँच वर्षसम्मको लामो रिसर्च पश्चात फिल्म निर्माण गरेको र टेक्निकल पक्षलाई उत्कृष्ट बनाउन सफल भएको बताउँदै मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर फिल्मले दिने बताए ।

कार्यक्रममा उपस्थित फिल्मका मुख्य कलाकार राईले यो फिल्मले मगर संकृतीको कथालाई निकै नै रोचक तरिकाले भनेको बताए ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । कृष्ण भन्डारीले सम्पादन रहेको फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ ।

फिल्मको विदेश प्रदर्शन अधिकार एमएसएमले अष्ट्रेलियाले लिएको छ भने नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट